• १९ असोज २०८३, सोमबार
  • ४ः०७ बेलुका

मैले देउवालाई धोका दिएको छैन, चुनाव लड्ने अधिकार सबैलाई छ : निधी

प्रकाशित मिति

२०७८ आश्विन २७ गते, बुधबार ०५:३१

२७ असोज, २०७८ काठमाडौँ :  जनकपुरधाम- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले सभापति शेरबहादुर देउवालाई आफूले धोका नदिएको बताएका छन् । धनुषामा क्षेत्र नम्बर ४ ले मङ्गलवार क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै निधीले १४ औँ महाधिवेशनमा सभापतिमा लड्नेबारे अघिल्लो महाधिवेशनमै शेरबहादुर देउवालाई बताइसकेकाले आफूले धोका नदिएको जानकारी गराए।

National Life

उपसभापति निधीले भने, शेरबहादुरजीले सङ्घीयता आइसकेपछि एक पटक प्रधानमन्त्री र एकीकृत काँग्रेसको सभापति बन्ने चाहना रहेको बताउनुभएको थियो। त्यो दुवै पूरा भइसकेको छ । अब उहाँले भन्न सक्नु पर्‍यो म पार्टीप्रति इमानदार छैन। पार्टीको लागि मैले काम गरेको छैन।


उनले भने,‘अहिलेसम्म उहाँ मान्न तयार हुनुभएको छैन। अन्तिम समयसम्म मान्नु हुन्छ मलाई विश्वास छ। नभए चुनाव लड्ने अधिकार सबैलाई छ। कसैको अधिकारलाई रोक्न सकिँदैन । ‘हाम्रो टिमका साथीहरूले दुवै जना सभापतिमा लडे समस्या आउन सक्ने भन्ने गर्नुभएको छ,’ उनले भने,‘१४ औँ महाधिवेशन म लड्छु भनेर अघिल्लो अधिवेशनमै मैले खुलेर उहाँलाई भनिसकेको थिएँ।

Classic Tech Mobile
Classic Tech Desktop

सभापतिमा सहयोग गर्न आग्रह गर्दै उपसभापति निधीले भने, म बाट पनि कमीकमजोरी भएका होलान्, त्यो गल्तीहरू भुलेर सभापतिमा सहयोग गर्न मेरो आग्रह छ । आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन मेरो उम्मेदवारी रहन्छ। तपाईँहरूको साथ चाहिन्छ ।


नेता निधीले लोकतान्त्रिक प्रणालीमा चुनाव लड्ने अधिकार सबैलाई रहेको बताउँदै अन्तिम समयमा देउवाको समर्थन आफूले पाउने विश्वास व्यक्त गरे। मधेशमा काँग्रेसले नजितेसम्म देशमा काँग्रेसको सरकार बन्न नसक्ने निधीले दाबी गरे। देश अहिले काँग्रेस खोजिरहेको जिकिर गर्दै उनले मधेशले जिताए देशले काँग्रेस पाउने बताए।


पहाडका नेता कार्यकर्ताले समर्थन गर्ने आश्वास दिएको निधीले सुनाए । मधेशमा जिताउन पनि तपाईँ सभापतिमा आउनुपर्छ भनेर उहाँहरूले भनिरहनु भएको छ,’ निधीले भने,‘हिमाल, पहाड र तराईलाई जोड्न पनि म सभापति बन्न चाहेका छु।

प्रतिकृया