तल्लो अदालतको रोक पुनरावेदनले हटायो
प्रकाशित मिति
२०७८ आश्विन २३ गते, शनिबार १०:४५
२३ असोज, २०७८ काठमाडौँ : अमेरिकाको टेक्सास राज्यले ल्याएको गर्भपतनसम्बन्धी कानुनमा जिल्ला अदालतले लगाएको अस्थायी रोक पुनरावेदन अदालतले फुकुवा गरेको छ। फिफ्थ सर्किट कोर्ट अफ अपिलले कानुनमाथि तल्लो अदालतले लगाएको अस्थायी रोक अस्थायी रुपमा फुकावा गरेको हो। टेक्सासका महान्यायाधिवक्ता केन पाक्स्टनले गर्भपतनसम्बन्धी कानुनमा जिल्ला अदालतले लगाएको प्रतिबन्ध फुकुवाका लागि गरेको अपील सर्किट कोर्टले स्वीकार गरेको हो।
कानुनको संवैधानिकतालाई लिएर प्रश्न उठिरहेका बेला लागू नगर्न माग गर्दै राष्ट्रपति जो बाइडेनको प्रशासनले दायर गरेको रिटमा सुनुवाइ गर्दै गएको बुधबार टेक्सासका एक जिल्ला न्यायाधीशले कानुन तत्कालका लागि लागू नगर्न आदेश दिएका थिए।
टेक्सासले हालै गर्भपतन अधिकांश रुपमा प्रतिबन्ध गर्ने खालको कानुन लागू गरेको थियो। सो कानुनअनुसार कुनै पनि महिलाले गर्भ रहेको ६ हप्ताभन्दा पछि गर्भपतन गराउन पाउने छैनन्। ६ हप्तापछि गर्भपतन गराएमा ती महिला, गर्भपतन सेवा प्रदान गर्ने क्लिनिक तथा चिकित्सकविरुद्ध कुनै पनि व्यक्तिले उजुरी दिनसक्ने व्यवस्था कानुनमा छ।
टेक्सासको वेस्टर्न डिस्ट्रिक्ट अदालतका न्यायाधीश रोबर्ट पिट्म्यानले गर्भपतनसम्बन्धी नयाँ कानुनको कार्यान्वयन तत्कालका लागि रोक्न आदेश दिएको थियो। तर सर्किट कोर्टले सो अवरोध हटाएको हो।
गएको बुधबार अस्टिनका न्यायाधीश पिट्म्यानले ११३ पृष्ठ लामो आदेशमा नयाँ कानुन कार्यान्वयनमा आएको सेप्टेम्बर १ देखि संविधानले महिलालाई प्रदान गरेको आफ्नो जीवनको निर्णय वा नियन्त्रण आफैले गर्ने अधिकारबाट महिलाहरुलाई गैरकानुनी रुपमा वञ्चित गरिएको उल्लेख गरेका थिए।








प्रतिकृया