• २० असोज २०८३, मंगलबार
  • ७ः२१ बेलुका

गोदावरीमा आजदेखि एमालेको विधान महाधिवेशन, यसरी हुनेछ छलफल

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार १०:०२

१५ असोज, २०७८ काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

National Life

यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। विधान महाधिवेशनमा ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुने उनले बताए । केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहने छन् ।


यस्तै जनसंगठन, पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन् । ओली, पोखरेल र पौडेलले पेस गरेका प्रतिवेदनमाथि सहभागीलाई समूहमा विभाजन गरेपछि दोस्रो दिन समूहगत छलफल गरेर समूहगत नेताले साझा धारणा प्रस्तुत गर्नेछन् । तेस्रो दिन उठेका प्रश्नको ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन् । त्यसपछि परिमार्जनसहित प्रतिवेदन पारित हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो छ मञ्चको व्यवस्थापन

विधान महाधिवेशनको हलको मञ्चमा पदाधिकारी र स्थायी समितिहरू सदस्यलाई राखिने छ । यस्तै सभाहलमा तीन हजार प्रतिनिधि र हलको दायाँ–बायाँ खाली स्थानमा एक–एक हजार प्रतिनिधिहरू राखिने प्रबन्ध गरिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक एवं स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए ।


उनका अनुसार हलको दायाँ–बायाँ प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप दुई हजार प्रतिनिधि राख्न सकिने गरी व्यवस्थापन गरिएको जनाइएको छ । महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई बिहान ९ देखि ११ बजेसम्म खाना खुवाउने, दिउँसो ३ बजे खाजा खुवाउने तथा आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा व्यवस्थापन गरिने थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया