अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुका लागि कोभिसिल्ड दोस्रो डोज खोपको व्यवस्था
प्रकाशित मिति
२०७८ जेष्ठ १३ गते, बिहीबार ०६:२२
काठमाडौं: कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ । अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको हो ।
सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा बुधबार र बिहीबार गरी प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा १ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ । यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४ सय ३४ जना, महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महानगरीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको छ । साथै शुक्रबार समेत थप कर्मचारीलाई खोप लगाइने छ । नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका छन् ।
निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
काठमाडौं, विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय १५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै २ हजार ६ सय १३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ३ सय ९७ जनालाई सचेत गराइएको छ ।निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गुल्मी, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका(२ रुद्रबेणी बस्ने काका नाता पर्ने १९ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई घरमा खेलिरहेको अवस्थामा ललाई फकाई स्थानीय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पा, आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका(२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भन्सार छली ल्याउँदै गरेको विभिन्न लत्ताकपडा बरामद
पर्सा, वीरगंज महानगरपालिकास्थित ईनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ६ सय रुपैयाँ बराबरको कुर्तासुरवाल, साडी लगायत विभिन्न किसिमका लत्ताकपडाहरु बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानहरुमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भन्सार छलि ल्याउँदै गरेका उक्त सामानहरु फेला पारी बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि बिहीबार वीरगंज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साइकलबाट लडेर मृत्यु
मोरङ, रंगेली नगरपालिका-५ आँपगाछी बस्ने ७० वर्षीय रेवतीलाल मण्डलको साइकलबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ । साइकलमा आफन्तको घरमा जाने क्रममा लड्दा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिषालु च्याउ खाँदा १ जनाको मृत्यु
मकवानपुर, बकैया गाउँपालिका-१० चकमके बस्ने ठुलीमाया घलानकी १५ वर्षीया छोरी प्रतिमा घलानको बिषालु च्याउ खाँदा बुधबार मृत्यु भएको छ । उनीहरुले आइतबार सोही ठाउँस्थित जंगलमा ल्याएको च्याउँ खदा बिरामी भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि हेटौँडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । च्याउ खाँदा बिरामी भएका ठुलीमाया समेत उनकै २ जना छोरीलाई उपचारका लागि हेटौँडातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगजानीबाट २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
रोल्पा, त्रिवेणी गाउँपालिका-३ रानागाउँ बस्ने २४ वर्षीय आकाश रानाले आफ्नै घरमा बिहीबार दिउँसो आगजानी गर्दा घर जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट वुढागाउँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । रानालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया