• 11:59 am

दुई सय १८ किलो अवैध लागूऔषध गाँजा सहित ट्याङकर चालक र सहचालक पक्राउ

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०५:५५

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना-४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका-२ बस्ने राजकुमार दवाडी रहेका छन् ।


काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्याङ्करमा अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र १९ पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


अवैध लागूऔषध सहित पक्राउ
कञ्चनपुर,
भिमदत्त नगरपालिका-१८ भगतपुरबाट १ ग्राम ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २० वर्षीय हरि चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटोमा हिडिरहेको अवस्थामा शंका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तास खेलिरहेको अवस्थामा सात जना पक्राउ
धनुषा, जनकपुर उपमहानगरपालिका-११ बस्ने रामजतन मण्डलको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय राम सोगारथ यादव लगायत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८१ हजार ५ सय रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


धारिलो हतियार हसियाँ प्रहारबाट मृत्यु
बाँके, हलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।
घरायसी बादविवादको कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा पोषण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगंज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अभियुक्त ठाकुर प्रसादलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं,
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-१ चिनी मिलअगाडि सडकमा लु.१२ प १९५१ नम्बरको मोटरसाइकलले साइकललाई बुधार राति ठक्कर दिँदा साइकलयात्री सोही नगरपालिका-३ कीर्तिपुर बस्ने ५७ वर्षीय पर्शराम गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मर्सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालिकोट, नरहरीनाथ गाउँपालिका-१ कोटवडामा भे.१ क १११४ नम्बरको स्काईभेटरको चेनमा च्यापिएर सोही ठाउँ बस्ने राम बहादुर कठायतको ४ वर्षीय छोरा नेमार कठायतको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । स्काइभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


लडेर मृत्यु
काठमाडौं, दोलखा, गौरीशंकर गाउँपालिका-८ खारे बस्ने ७३ वर्षीय वीर बहादुर तामाङको रुखबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै बारीको रूखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वीर बहादुरको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पाँचथर, फिदिम नगरपालिका-१ ठाडो लाईन बस्ने बसन्त राईको २१ महिनाको छोरा अनमोल राईको आफ्नै घरको छतबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । छतबाट लडेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचार पश्चात वीएण्डसी अस्पताल बिर्तामोड लगि थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


डुबेर मृत्यु
दार्चुला, शैल्यशिखर नगरपालिका-९ नगतड बस्ने ४५ वर्षीय धन्नी लाबड सोही ठाउँस्थित चौलानी नदीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ डेरा गरी बस्ने गोरखा घ्यालचोक गाउँपालिका-२ घर भएका ४२ वर्षीय कृष्ण कुमार श्रेष्ठ आफ्नै कोठा बाहिर बुधबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, ईटहरी उपमहानगरपालिका-६ स्थित नर्थ पोईन्ट सेकेण्डरी बोडिङ स्कुलमा सेक्युरिटी गार्डको काम गर्ने बराह नगरपालिका-५ बस्ने २४ वर्षीय दिपेन्द्र परियार सोही स्कुलको गार्ड रुममा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, मेचीनगर नगरपालिका-४ मिलन चौकस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ८० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-५ बुढीखोला नजिक बाटोमा हाल वास्तविक नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । एक बहादुर राई भन्दै बोलाईने उनी सो क्षेत्रमा मागी खाई हिँड्ने गरेको बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ खेरभट्टी बस्ने बलराम भट्टराईको गोठमा कुडो पकाउन बालेको आगो सल्किएर बुधबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


झापा, अर्जुनधारा नगरपालिका-१० कालिस्थानमा रहेको एनसेल टावरको १५ किबीको जेनेटरमा बुधबार राति अचानक आगलागी हुँदा उक्त जेनेरेटर जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतीको विवरण हाल खुल्न सकेको छैन् ।

सिन्धुली, गोजन्जोर गाउँपालिका-३ ग्वालटार बस्ने ५५ वर्षीय तिलक बस्नेतको कच्ची घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा घर, अन्नपात, फ्रिज, लत्ताकपडा लगायतका सामान जलेर करिब ७ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-९ बस्ने प्रमोद साहको रंग पेन्टको गोदाममा बिद्युतको तार सर्ट भई बुधबार राति आगलागी हुँदा गोदाम र सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया