• १२ असोज २०८३, सोमबार
  • ९ः३३ बिहान

करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत गरिँदै

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०३:१७

बाग्लुङ:  कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मतको काम शुरु गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम शुरु गरिएको हो ।

National Life

 

चैतको दोस्रो सातादेखि शुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म पहिराका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । करिडोरमा खसेको पहिरो पन्छाउने काम शुरु गरिएको इन्जिनीयर सुरेन्द्र गौतमले बताए । दुई वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभागअन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । दश किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

“ट्र्याक खुला भएका सडक बाह्रै महिना चलून् भन्ने हो”, इन्जिनीयर गौतमले भने, “अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।” विभागले रु पाँच करोडको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम शुरु गरिएको गौतमले बताए । लामा-आइएस-एसी जेभीले करिडोर मर्मतको जिम्मेवारी लिएको छ । रु दुई करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउने छ । तेह्र हजार १३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र एक हजार ६२२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ ।

योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटर्निङ वाल, कङ्क्रिट वाल र सडकमा रहेका ढुङ्गामाटो पन्छाउने काम रहेको इन्जिनीयर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । “बजेट थपिँदैन भन्नुभएको छ, मजदूर प्रशस्त रहेकाले काम धमाधम भइरहेको छ”, कम्पनीका सञ्चालक दीपक अदैले भने, “तोकेकै समयमा काम सक्छौँ ।”

राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पामा रहेको र यहाँका स्थानीय तहले बेवास्ता गरेका कारण करिडोरको दश किलोमिटर खण्डमा कैयौँ ठाउँमा अवरोध छ । बिहीबार वर्षापछि आएको बाढीले कालाखोला क्षेत्रमा क्षति पु¥याएपछि कठिनले सवारी चलिरहेका छन् । “मालढुङ्गाबाट काम शुरु भएको छ, बढीमा सात किलोमिटरमा यस वर्ष काम हुन्छ”, गौतम भने ।

प्रतिकृया