• ११ असोज २०८३, आइतबार
  • १ः२५ राती

दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा

प्रकाशित मिति

२०७७ चैत्र २० गते, शुक्रबार ०१:२२

मोरङ:  ‘गरीबी रहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् । विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुन्नतिका लागि प्रयासरत यो संस्थाले वित्तीय क्षेत्रमा पनि काम गरिरहेको छ । समूह बनाई बिनाधितो ऋण प्रदान गरिरहेको यो संस्थाले आयआर्जन र बचत गर्ने बानीको विकास पनि गरिरहेको छ ।

National Life

 

सबैका लागि स्वच्छ ऊर्जा कार्यक्रमबाट हजारौँ घरपरिवारमा नवीकरणीय ऊर्जाका सेवामार्फत ९सोलार, बायोग्यास तथा सुधारिएको चुलो० लाभान्वित भएका छन् । विपन्न समुदायका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढीको सुरक्षित आवास निर्माण सुविधा प्रदान गरेको समाजले आत्मनिर्भर बनाउने अभियानअन्तर्गत आधुनिक तवरमा कृषि उत्पादन कार्यमा टेवा पुग्ने गरी विभिन्न स्थानमा नमूना कृषि उत्पादनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा समाजका निर्देशक एवं संस्थापक अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनले लघुवित्त कार्यक्रमबाट प्रदेशका दुई लाख समाजका सदस्यले लाभ लिएको बताउँदै पिछडिएको र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी सुविधा सम्पन्न विद्यालय स्थापना, सामुदायिक विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षण सिकाइका लागि सामुदायिक विद्यालयसँग सहकार्य, अति विपन्न समुदाय लक्षित नमूना बाल शिक्षा कार्यक्रम तथा नमूना बाल शिक्षा केन्द्रको स्थापना जस्ता सामाजिक कार्य गरिरहेको बताए ।

 

निर्देशक मण्डलले ‘नव बिहानी’ नामक किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्दा उमेर नपुगेका किशोरीको विवाहमा नियन्त्रण भएको जानकारी दिँदै उद्यमशीलता युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिए ।

 

दिगो विकासका लागि तय गरिएका विभिन्न लक्ष्यमध्ये चौथो लक्ष्य गुणस्तरीय शिक्षाको पहुँचको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत प्रतिस्पर्धात्मक विधिबाट समाजले ‘द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट’ इन्टरनेशनल प्राइज–२०१७ बाट प्राप्त अमेरिकन डलर तीन लाख ९रु तीन करोड २४ लाख० रकममा समाजले त्यति नै रकम थप गरी रु छ करोड ४८ लाखबाट केही रकम खर्च गरी रु पाँच करोडको स्थायी कोष निर्माण गरेको छ ।

कोषको ब्याजबाट आउने रकम दिगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सरकारी, गैरसरकारी सङ्घसंस्था तथा पत्रकारलाई समेत लक्षित गरी यसै वर्षदेखि वार्षिकरूपमा रु १० लाख बराबरको पुरस्कार प्रदान गर्ने सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना पनि जारी भइसकेको निर्देशक मण्डलले बताए । पहिलो, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु पाँच लाख, तीन लाख र दुई लाख रहेको बताइएको छ ।

दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरणसम्बन्धी व्यवस्थापनका लागि काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेश राज शर्माको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति बनेको पत्रकार सम्मेलनमा निर्देशक समितिका सदस्य महाजन शर्माले जानकारी दिए ।

यही चैत २५ गतेसम्म आवेदन पेश गर्ने गरी सूचना जारी भएको पुरस्कार प्राप्तिका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्ने गैरसरकारी संस्था, शैक्षिक संस्था पत्रकारले तोकिएको अवधिमा आवेदन पेश गर्नुपर्ने सदस्य शर्माले बताए ।

प्रतिकृया