रेफ्रीमाथि हातपात गर्ने खेलाडी र प्रशिक्षक कारवाहीमा
प्रकाशित मिति
२०७७ चैत्र १९ गते, बिहीबार ०९:१५
मोरङ : खेल सकिएसँगै रेफ्रीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको घटनामा संलग्नहरुलाई जिल्ला फुटबल संघ मोरङले कारवाही गरेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी सिविरद्धारा आयोजित वडास्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका क्रममा सोमबार भएको घटनालाई लिएर संघले कारवाहीको निर्णय गरेको संघका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए।
बुधबार विराटनगरस्थित संघको कार्यालयमा घटनाबारे छलफल गरेको बताएका अध्यक्ष धिमालले रेफ्री तथा सहायक रेफ्रीमा अभद्रमाथि व्यवहार तथा कुटपिटमा संलग्न ६ जना खेलाडी र एक प्रशिक्षकलाई मुलुकभर खेल्न र खेल गतिविधिमा संलग्न हुन नपाउनेगरि कारवाही गरिएको जानकारी दिए।
छलफलपछि संघले घटनामा संलग्न भनिएका पथरीशनिश्चरे वडा नम्बर १० का राज तामाङ, सनम मुडीयारी, सोनम कार्की, पुश्कर राईलाई दुई वर्षसम्म फुटबल खेल्न प्रतिबन्ध लगाएको छ। त्यसैगरि संघले सनम तामाङ र आकाश धिमाललाई एक वर्ष तथा टोलीका प्रशिक्षक साजन खाम्बा लिम्बुलाई डेढ वर्षसम्म प्रतिबन्ध लगाएको छ।
वडा नम्बर १० र पथरी सिविरबिचको खेल सकिएपछि खेलाडी तथा प्रशिक्षकसहित दर्शकले रेफ्री मनिस खड्का तथा सहायक रेफ्री जमुना मगरमाथि कुटपिट तथा अभद्र व्यवहार गरेका थिए। संघले सो खेलमा सुरक्षा प्रवन्ध दुरुस्त बनाउन नसकेको भन्दै आयोजक भुटानी सिविरमाथि ११ हजार रुपैयाँ जरिवाना गरेको छ।
सो खेलमा वडा नम्बर १० को टोली पथरी सिविरसँग १–० ले पराजित भएपछि रुष्ठ खेलाडी तथा प्रशिक्षकले रेफ्रीमाथि हातपात गरेका थिए। प्रतियोगिता चैत्र ७ गतेदेखि सुरु भएको हो। जसमा नगरपालिकाको १० वटा टोली र भुटानी शरणार्थीसिविर मोरङसँगै बेलडाँगी शिविरबाट समान २ वटा गरि कुल १४ टोलीको सहभागिता छ।








प्रतिकृया