ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले दिए एकसाथ राजीनामा
प्रकाशित मिति
२०७७ चैत्र १८ गते, बुधबार ०८:४७
ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन्।
राष्ट्रपति जायर बोल्सोनारोसँगको असहमतिका कारण उनीहरुले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति बोल्सोनारोले सेनामा अनावश्यक रुपमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन्।
जनरल एड्सन लिएल पुजोल, एडम इल्क्वेस बार्बोसा र लेफ्टिनेन्ट एन्तोनिओ कार्लोस बेर्मुडेजले मंगलबार राजीनामा दिएका हुन्।
सोमबार बोल्सोनारो मन्त्रिपरिषद्का विदेश र रक्षा मन्त्रीले राजीनामा दिएका थिए।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासका कारण बोल्सोनारोको ख्याती कम हुँदै गएको छ।
दुई वर्ष पहिले सत्तामा आएका दक्षिण पन्थी बोल्सोनारोले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि वैज्ञानिकले अत्यावश्यक भनेको क्वारेन्टिनसहितका उपायहरु अस्वीकार गरेका थिए।
अर्थतन्त्रमा असर गर्ने भन्दै उनले सावधानीका उपाय अस्वीकार गरेका हुन्।
ब्राजिलमा कोभिड–१९ का कारण अहिलेसम्म तीन लाख १४ हजार मानिसको ज्यान गएको छ।
एजेन्सी






प्रतिकृया