पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्न चिनियाँ विज्ञ टोली आउँदै
प्रकाशित मिति
२०७७ चैत्र १ गते, आईतवार ०१:०६
काठमाडौ: दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चैत १९ मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ । यो चरणमा हुने ड्रिलिङ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ ।
अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि ब्याख्या गर्नेछ । पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए ।
पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढ्न लागेको हो । जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्ति चरणको सर्वेक्षणको काम गरिनेछ ।
दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्वर गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।





प्रतिकृया