राजनीतिक धरापमा नेपाल -खनाल समूह:ओली मान्नुको विकल्प रहेन
प्रकाशित मिति
२०७७ फाल्गुन २४ गते, सोमबार ०८:५५
काठमाडौ: सर्वोच्च अदालतको आदेशसँगै दलीय राजनीतिक चरित्रमा आमूल फेरबदल हुने भएको छ । शक्तिशाली नेकपाको वैधानिक अस्तित्व समाप्तीसँगै राजनीतिमा नेकपा एमाले र माओवादी केन्द्रकै अस्तित्व देखापर्नेछ ।
फेरि एमालेको उदयसँगै केपी शर्मा ओली शक्तिशाली अध्यक्ष हुनेछन् भने पुष्पकमल दाहालका निम्ति माओवादी केन्द्र छँदैछ । यद्यपि उनीहरु एकीकरण भएपछि निर्वाचन आयोगमा अरुले एमाले दर्ता गराइसकेको हुँदा त्यसले पनि केही अप्ठ्यारो पार्न सक्छ ।

यो आदेशले सबभन्दा बढी मारमा माधवकुमार नेपाल(झलनाथ खनाल समूहलाई पारेको छ । उनीहरु यतिखेर अन्यौलमा परेका छन् । त्यही अन्यौलबीच दाहाल(नेपाल समूहको स्थायी कमिटिको आज बैठक बस्दैछ । त्यही बैठकले भावी राजनीतिक कोर्स तय गर्ने र सर्वोच्च अदालतको आदेशको हकमा पुनरावलोकनमा जाने निर्णय लिन सक्नेछ ।

‘अब हामीलाई केपी शर्मा ओली मान्नुको विकल्प रहेन’ नेपाल(खनालका साथमा रहेका एक एमाले नेताले भने, ‘पुष्पकमल दाहालसँग माओवादी छ, अब हामीसँग एमाले विभाजन गर्ने मत पनि छैन, त्यसकारण ‘कर्नर’मै रहेर भए पनि त्यहीभित्र संघर्ष गर्नुको विकल्प रहेन ।’
अदालतले आफूहरुमाथि अन्याय गरेको जिकीरसहित ती नेताले भने, ‘अदालतले नेकपा नाम पहिल्यै दर्ता भइसकेको हुँदा नयाँ नाम राख भन्नुपर्थ्यो, तर आश्चर्यजनक ढंगले एकीकरणपूर्वको हैसियतमा पुर्याएपछि हामीलाई समस्या पारेको हो । अब अदालती आदेश आइसकेपछि वैधानिक बाटोमा जानु हाम्रो बाध्यता हो ।’
उनका अनुसार, साविक एमालेमा केन्द्रीय समितिमा नेपाल-खनाल समूहको जेनतेन ४० प्रतिशत पुग्छ । तर, संसदीय दलमा ४० प्रतिशत पुग्दैन । अझ विभाजनका साथ दिएका केन्द्रीय सदस्य तथा सांसदहरुले मत परिवर्तन गर्न सक्छन् । किनभने उनीहरु ‘सूर्य’ चिन्हबाटै चुनाव लड्न खोज्छन् ।




प्रतिकृया