• 5:31 am

आफ्नै भान्जालाई अपहरण गरी एक करोड फिरौती माग्ने मामा प्रहरीद्वारा सार्वजनिक

प्रकाशित मिति

February 21, 2021

काठमाडौं: आफ्नो भान्जालाई अपहरण गर्ने मामालाई प्रहरीले सार्वजनिक गरेको छ। धनुषाको नगइराइन नगरपालिका वडा नं. ६ लग्माबाट आफ्नै ७ वर्षीय भान्जाको अपहरण गर्ने मामालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी सार्वजनिक गरेको हो।

शनिबार लग्माका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा डेरा लिएर बस्दै आएका महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ का २० वर्षीय राम रतन दास भन्ने लक्ष्मेश्वर कुमार दासले अपहरण गरेका थिए। शनिबार घरबाट खेल्न निस्केका चन्दनलाई राम रतनले मोटरसाइकलमा बसाएर लगेका थिए।

साँझ करिब साढे चार बजेतिर अपिरिचित नम्बरबाट अपहरित बालकको घरमा फोन गरेर एक करोड फिरौती मागेपछि अपहरणको बारेमा परिवारमा जानकारी भएको थियो।

परिवारजनले प्रहरीमा उजुरी दिएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले चन्दनलाई उसको मामा डेरा लिएर बस्दै आएको स्थानबाट उद्धार गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए।

अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइसकिएको र घटनामा संलग्न रहेको आशंकाको आधारमा अन्य दुईजनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए।

प्रतिकृया