• 12:39 pm

कस्तो हुनेछ आजको मौसम ?

प्रकाशित मिति

२०८१ जेष्ठ ५ गते, शनिबार ०९:०१

जेठ ५, २०८१ काठमाडौँ: देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईको केही जिल्लामा गमी बढ्दा केही स्थानमा भने वर्षाको पनि सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पश्चिम तराईमा गर्मी बढ्ने सम्भावना रहेको यसअघि नै विभागले सूचना जारी गरिसकेको छ । भोलिसम्म पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने भएकाले सतर्क रहन विभागको आग्रह छ ।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिकृया