• 10:30 am

चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रकाशित मिति

२०८१ जेष्ठ ५ गते, शनिबार ०९:१३

जेठ ५, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत लिने भएका छन् । उनले आगामी जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले त्यही प्रावधानअनुरूप विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले समर्थन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले यसअघि नै तीनपटक विश्वासको मत लिइसकेका छन् । यसअघि अन्तिपटक २०८० फागुन ३० गते लिएका थिए ।

अहिले प्रधानमन्त्री प्रचण्डसँग १४४ मत छ । सरकार कायम रहनका लागि कम्तिमा १३८ मत चाहिन्छ । प्रधानमन्त्री प्रचण्डसँग चाहिनेभन्दा ६ मत मात्रै बढी छ । यसकारण यही संसदीय अङ्कगणितअनुसार त्यति सहज छैन ।

तर, प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति (नाउपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी (लोसपा) लगायतका दलहरूलाई पनि समेट्ने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्रका एक नेता भन्छन्— अहिले सरकार बाहिर रहेका दलहरू पनि सरकारलाई समर्थन गर्न सहमत हुनुहुन्छ, प्रधानमन्त्रीज्यूले संवाद गरिरहनुभएको छ ।

प्रतिकृया