नेपालमा आज सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान, प्रधानमन्त्रीले शुभारम्भ गर्ने
प्रकाशित मिति
२०७७ माघ १४ गते, बुधबार ०७:५०
काठमाडौं: नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाइने छभने पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने छ ।
केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो ।
नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ । नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ । विभागले आपत्कालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृति दिएको थियो ।








प्रतिकृया