• ८ असोज २०८३, बिहीबार
  • ११ः५७ राती

साधनको चाप न्यूनीकरणलाई ‘कार्यालय समय’ लागू

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०१:०८

तनहुँ:कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको छ । सामान बिक्री गर्न आएका सवारी साधनलाई आवतजावत तथा लोड अनलोड गर्ने कार्यमा सहजीकरण गर्न सो नियम लागू गरिएको हो ।

National Life

बिहान ९ बजेदेखि १०.१५ र दिउँसो ३.३० देखि ४ बजेसम्म ‘कार्यालय समय’ लागू गरी त्यस्ता सवारीलाई गुड्न प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहआयोजनामा गत मङ्गलबारदेखि उक्त कार्य थालिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले कार्यालय समय लागू गरिएको जिल्ला ट्राफिक प्रमुख रानाभाटले बताउनुभयो । कार्यालय समयमा कर्मचारी, विद्यार्थी, किनमेलका लागि आउने सर्वसाधारणको आवतजावतले सडक नै ढाकिने र सवारी साधनलाई पनि गुड्न समस्या हुने गरेकोले त्यसलाई व्यवस्थापन गर्न कार्यालय समय लागू गरिएको हो ।

“सवारी चापका कारण बाटोमा हिँड्ने यात्रुलाई बाटो काट्न पनि समस्या हुने गरेको पाइएकाले यसको समाधानको लागि सरोकारवालासँग छलफल गरी उक्त नियम लागू गरिएको हो ।” उनले भने, “कोरोनको प्रभाव कम हुँदै गएसँगै मानिसको चहलपहलमा वृद्धि भएकाले आवतजावतमा सहज बनाउन समय निर्धारण गरेका हौँ ।”

कार्यालय समय लागू गरिएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायले पहल गरिरहेको उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ राकुले बताए । कार्यालय समयमा अत्यधिक चाप हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै थियो । उनले भने, “अब सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने विश्वास लिएका छौँ ।” पछिल्लो समय तनहुँमा सवारी चेकिङ कार्यलाई कडाइका साथ लागू गरिएको छ । पृथ्वीराजमार्ग क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रका रुटमा चल्ने सवारी साधनको पनि चेकिङ कार्य थालिएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

अन्य सवारीको तुलनामा दुई पाङ्ग्रे सवारी बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख गरिएको छ । दुई पाङ्ग्रे सवारी चालकले बिना लाइसेन्स सवारी चलाउने गरेको पाइएकाले चेकिङलाई अझ कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।रासस

प्रतिकृया