शेरबहादुर देउवालाई सहजै प्रधानमन्त्री स्वीकार गछौंः प्रचण्ड
प्रकाशित मिति
२०७७ माघ ७ गते, बुधबार ०८:४४
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुने विश्वास गरेका छन्।
प्रचण्डले बेलुकी पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै केही दिनमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने भन्दै यस्तो बताएका हुन् ।
लोकतन्त्र र संविधान रक्षाका लागि आफूहरू जतिसुकै लचिलो हुन पनि तयार रहेको कुरा देउवालाई भनेको पनि प्रचण्डले बताए।
कांग्रेस निरन्तर रूपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरूद्धमा कांग्रेससँग आफूहरूको समझदारी हुने उनले बताएका छन्।
‘कांग्रेस पनि आन्दोलनमा छ। हामी पनि आन्दोलनमा छौं। मुलभूत रूपमा कुरा मिलेकै छ,’ उनले भने, ‘जहाँसम्म निर्वाचनको कुरा हो एक वर्षपछि चुनाव हुन्छ त्यसमा कुनै ठाउँमा प्रतिस्पर्धा कुनै ठाउँमा तालमेल गरौंला। संविधान बच्यो भने राजनीतिक पार्टी खेल्ने मैदान त बाँकी नै रहन्छ।’
संविधानको हत्या भयो भने विद्रोह र विरोध भइरहने उनको भनाइ छ।
आफू संसदीय दलको नेता भए पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको प्रचण्डले बताए।
‘मुख्य काम संविधान बचाउने हो,’ उनले भने, ‘फेरि प्रधानमन्त्री म दावी गर्दिनँ। संसद पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन। पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो।’






प्रतिकृया