• १० असोज २०८३, शनिबार
  • ९ः१९ राती

भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने

प्रकाशित मिति

२०७७ मंसिर ९ गते, मंगलवार ०७:१२

 

National Life

काठमाडौं, नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले एकै पटक विज्ञप्ति निकालेर सचिवस्तरीय बैठकको विषय सार्वजनिक गर्दै उच्चस्तरीय भ्रमणको निरन्तरता भनेका छन् ।

विदेश सचिवस्तरीय वार्तासँगै सीमा विवादका कारण बिग्रेको नेपाल र भारतको सम्बन्ध सुधारका लागि कूटनीतिक च्यानलबाट प्रक्रिया अगाडि बढ्ने भएको हो । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला ११ मंसिरमा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी बिहीबार नेपाल र भारतका परराष्ट्र सचिव नेतृत्वले सम्बन्ध सुधारका विषयमा मन्थन गर्नेछन् । शृंगला नेपालमा सचिवस्तरीय वार्ता सकेर १२ मंसिरमा भारत फर्कनेछन् ।

भ्रमणको पहिलो दिनमा दुई देशका विदेश सचिवहरूले द्विपक्षीय बैठकमा भाग लिनेछन् र नेपाल र भारतबीच विभिन्न विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश सचिवको भ्रमणलाई दुई छिमेकी मुलुकको उच्चस्तरको भ्रमणको निरन्तरताका रूपमा लिइएको छ ।

त्यस्तै, भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्ति निकालेर भ्रमणको विषयमा जानकारी दिएको छ । ‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुईपक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण एक अवसर हुनेछ ।’
राजधानी दैनिकबाट साभार

प्रतिकृया