• १२ असार २०८३, शुक्रबार
  • १०:४५ बेलुका

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार १२:२६

काभ्रेपलाञ्चोक, जिल्लाको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उहाँ हिजोआज बन्दाकोभी बेच्न व्यस्त बनेका हुन्।

विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन्। “समयअनुसारको तरकारी खेती गरी आर्थिक उपार्जनमा लागिरहेको छु”, उनले भने, “हिजोआज बन्दाकोभीको मौसम भएकाले त्यही बजारीकरण गर्दैमा व्यस्त छु ।”

Kamana Sewa

बन्दाकोभीसँगै हरियो धनियाँ, पालुङ्गो, चमसुर पनि उत्पादन भइरहेको उहाँको भनाइ छ । यसअघि बोडी उत्पादन गरी बिक्री गरिसकेका उनले दुःख गरे गाउँमै बसेर पनि तरकारी खेतीबाट आम्दानी गर्न सकिने भएपछि त्यसतर्फ लागेको बताए । करिब पाँच वर्ष अगाडि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिएका लामाले करिब एक वर्ष अगाडिबाट निरन्तर खेतीमा लाग्दै आएका छन् ।

Classic Tech Desktop

बारीमा उत्पादन गरेको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ । एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उनले बताए । “बजार पनि सानो छ तर पनि उत्पादन भएको तरकारी बिक्री भएन भनेर चिन्तित हुनुपर्ने अवस्था छैन”, उनले सुनाए, “बजारमा बिक्रीसँगै वडामा भएको सरकारी कार्यालयमा कार्यरत कर्मचारी आफैँले पनि ताजा तरकारीका लागि बारीमा नै आएर लाने गर्नुहुन्छ ।”

सँगै तालिम लिएका साथीहरूले व्यावसायिकरूपमा काम नगरे पनि आफूले भने सिकेको सीपलाई व्यावहारिकरूपमा कार्यान्वयनमा ल्याएको उनले बताए । “धेरै आम्दानी गर्न नसके पनि एकातिर तरकारी के खाने भन्ने चिन्ता छैन, अर्कोतिर अध्ययन र घर खर्चका लागि कुनै समस्या छैन”, उनले भने “अहिले पछिल्लो समयमा भने बजारको मागका आधारमा तरकारी उत्पादन गर्ने गरेको छु ।” यद्यपि पर्याप्त मात्रमा सिँचाइको व्यवस्था नहुँदा भने निकै समस्या व्यहोर्नुपरेको उनको भनाइ छ । पानीको प्रशस्त व्यवस्था नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उनले बताए ।

अहिले उनी हातधुने र कपडा धोएर खेर जाने पानीलाई सङ्कलन गरेर तरकारी खेती गर्छन्। त्यसका लागि गाउँपालिका र वडाले सिँचाइको व्यवस्थापन गरेको खण्डमा कृषिमा लाग्न चाहने युवाहरूका लागि धेरै सहज हुने उनको भनाइ छ ।रासस

 

प्रतिकृया