• ८ असोज २०८३, बिहीबार
  • ५ः३९ बेलुका

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ०५:२९

काठमाडौँ, नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासङ्घका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम हुनुपर्छ भन्ने पक्षमा रहे पनि शिक्षकलाई तयारी नगराउँदा यसको सही कार्यान्वयन हुन नसक्ने स्पष्ट गर्नुभयो ।

National Life

उहाँले सो तहमा कार्यान्वयनमा ल्याउन नसकिने खालका धेरै ऐच्छिक विषय समावेश नगर्न पनि आग्रह गर्नुभयो । नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले २०७६ भदौ २० गते संविधान र सङ्घीयता अनुकूल हुने गरी विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप ल्याएको थियो । नयाँ व्यवस्थानुसार कक्षा १० पछि माध्यमिक शिक्षाको निरन्तरतास्वरुप कक्षा ११ लाई जोड्दै ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिकसत्रदेखि यसको कार्यान्वयन शुरु भएको जनाइसकेको छ ।

अध्यक्ष थापाले नयाँ पाठ्यक्रम प्रणालीअनुसार शिक्षकलाई सेवा आयोगको परीक्षामा भाग लिने योग्यताबारे तालमेल मिलाउन शिक्षा सेवा आयोगको नियमावाली परिवर्तन चाँडो गर्न पनि माग गर्नुभयो । उहाँले विद्यालय समायोजन ९मर्ज० हुँदा शिक्षक कर्मचारीलाई हटाउन नहुने र दरबन्दी मिलान गर्दा प्रधानाध्यापकलाई दरबन्दी कायम नगर्ने सहमति कार्यान्वयन हुनुपर्ने जनाउँदै शिक्षक विद्यार्थी अनुपातको नयाँ मापदण्ड हिमाल, पहाड र तराईमा क्रमशः ३०, ३५ र ४० हुनुपर्ने अडान राख्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक रुपान्तरणका लागि शिक्षक र शिक्षा पत्रकार कुनै न कुनैरुपमा एउटा बिन्दुमा उभिनुपर्नेमा जोड दिनुभयो भने एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले शिक्षक समुदाय र शिक्षा पत्रकारिता क्षेत्रबीचको निरन्तर जागरुता नभएमा शैक्षिक रुपान्तरण सम्भव नहुने जनाउनुभयो । पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले कोभिड– १९ पछिको स्थितिमा वैकल्पिक माध्यमबाट भइरहेको सिकाइ प्रक्रियाबारे वस्तुगत अध्ययन र सम्प्रेषणका लागि शिक्षक र पत्रकारिता क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

रासस

प्रतिकृया