• ७ असोज २०८३, बुधबार
  • १ः०८ दिउँसो

लैङ्गिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग होः राष्ट्रपति

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०१:३४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगत्को निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा महासचिव एन्टोनियो गुटरेसले बिहीबार राष्ट्र सङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना गरेको महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औँ वार्षिकोत्सव ९बेइजिङ प्लस २५० का अवसरमा आयोजित ‘सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔँ’ विषयको उच्चस्तरीय बैठकलाई काठमाडौँबाट अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उहाँले पूर्ण एवम् सारभूत समानता हासिल नभएसम्म महिला सशक्तीकरणको अभियान जारी रहनुपर्नेमा जोड दिनुभयो ।

National Life

उहाँले विभेदका अवशेष निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरी सुधार्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका तयार गरेको तथा त्यसमा अन्तरनिहित सरोकारका १२ क्षेत्रमा क्रमिक रूपमा प्रगति हुँदै गए पनि ती प्रतिबद्धता पूर्ण रुपमा हासिल हुन अझै समय लाग्ने तथा समाजमा संरचनागत खाडल तथा चुनौती कायमै रहेको बताउनुभयो ।

कोभिड–१९ को महामारीले असमानताको जोखिमलाई अझ बढाए पनि त्यसलाई प्रगतिको बाधक बन्न दिन नहुने विचार व्यक्त गर्दै उहाँले समयमै स्वास्थ्यस्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकता सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी छन् भन्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘दिगो विकास कार्यसूची २०३०’ को कार्यान्वयन दशक एवम् दिगो विकासको पाँचौंँ लक्ष्य प्राप्तिका लागि बेइजिङ घोषणापत्रको कार्यान्वयन महत्वपूर्ण परीक्षण हुने धारणा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपाल महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलगायत मानव अधिकारसम्बन्धी प्रमुख दस्तावेजको पक्ष राष्ट्र रहेको जानकारी दिँदै भन्नुभयो, “हामीले लैङ्गिक विषयलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रुपमा संविधान एवं कानूनमा नै व्यवस्थित गरेका छौंँ ।”

नेपालले लैङ्गिक हिंसा तथा विभेद अन्त्यका लागि लक्षित कार्यक्रम तथा कानूनको कार्यान्वयनलाई सुदृढ तुल्याएको तथा विकट भौगोलिक क्षेत्रका प्रसव वेदनामा छटपटाएका गर्भवती र सुत्केरीको जीवन रक्षाका लागि हवाई उद्धारको व्यवस्था गरेको जानकारी दिँदै उहाँले लामो सङ्घर्ष र निरन्तरको सिर्जनात्मक प्रयासबाट हाल नेपालमा सङ्घ, प्रदेश र स्थानीय सरकारका कूल निर्वाचित पदमध्ये ४१ प्रतिशत र निजामती सेवामा २४ प्रतिशतभन्दा बढी महिलाले काम गरिरहेको तथा ८३ प्रतिशत महिला श्रम बजारका विभिन्न क्षेत्रमा संलग्न रहेको बताउनुभयो ।
लैङ्गिक रुढीवादलाई हटाएर, परम्परादेखि चल्दै आएका असमानतालाई सच्याएर एवम् राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा हाम्रा प्रतिबद्धता र तिनको कार्यान्वयनबीच समन्वय कायम गरेर बेइजिङ घोषणापत्रका उद्देश्य हासिल गर्न सकिने अभिमत राष्ट्रपति भण्डारीले प्रकट गर्नुभयो ।

बैठकलाई ४२ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, पाँच उपराष्ट्रपति र १११ मन्त्रीसहित १७५ जनाले सम्बोधन गर्नुभएको न्युयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
रासस

प्रतिकृया