• ६ असार २०८३, शनिबार
  • ९:४६ बिहान

बलात्कार घटनामा मेलमिलाप गराउनेलाई कारवाही माग

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०४:५९

काठमाडौँ, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा मेलमिलाप गराउने र मध्यस्तकर्ताको भूमिका खेल्ने जोकोहीलाई पनि मतियारका रुपमा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायत जिल्लामा बालिका तथा महिलामाथि भइरहेका बलात्कार, हत्याहिंसा र केन्द्रीय कारागारमा कैदीबन्दीको मृत्युबारे छलफल गरेपछि समितिको आजको बैठकले उक्त निर्देश गरेको हो ।

मुलुकका ती जिल्लामा भएका बलात्कार, हत्याहिंसाजस्ता जघन्य अपराधका घटनालाई गम्भीरतापूर्वक लिई त्यसमा संलग्न जोकोहीलाई तत्काल हदैसम्मको कानूनी सजाय र पीडितलाई न्यायसहितको क्षतिपूर्ति दिने व्यवस्था गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार गरी हत्या भएको लामो समय बितिसक्दा पनि बलात्कार र हत्यामा संलग्न अपराधीको अहिलेसम्म पहिचान गर्न नसकिएका सन्दर्भमा तत्काल सत्यतथ्यका आधामा घटनामा संलग्न अपराधीलाई सार्वजनिक गर्दै हदैसम्मको कारवाही गर्न बैठकले सरकारलाई निर्देश गरेको छ ।

Kamana Sewa

समितिले प्रहरी सङ्गठनलाई जिम्मेवार र जवाफदेही बनाउने, घटनामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न हुने, उजूरी नलिने र मध्यस्तकर्ताको भूमिका खेल्ने प्रहरीलाई कारवाहीको दायरामा ल्याउने तथा अपराधको अनुसन्धान र अनुगमन गर्ने संयन्त्र निर्माण गरी प्रहरीको सुरक्षा प्रणालीमा सुधार ल्याउन पनि सरकारलाई भनेको छ ।

Classic Tech Desktop

बैठकले बलात्कार घटनाको तत्काल परीक्षण गर्न सकिने आधुनिक प्रविधिसहितको उपकरण प्रत्येक जिल्लामा उपलब्ध हुने व्यवस्था मिलाउन तथा कतिपय पीडितलाई समाजमा अभद्र एवं अमानवीय व्यवहार गरिने हुनाले ससम्मान जीवनयापन गर्ने व्यवस्था मिलाउने सुरक्षा प्रणालीमा सुधार गर्न पनि सुझाव दिएको छ । बलात्कारका घटना न्यूनीकरण गर्न मौजुदा कानूनको कुनै पनि प्रकारको वहाना, दवाव र प्रभावमा नपरी कडाइपूर्वक कार्यान्वयन गर्न, आवश्यकतानुसार कानून पुनरवलोकन गर्न तथा त्यस्ता घटना रोकथामका लागि सामाजिक जागरण र सचेतनाका लागि बृहत् कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।
रासस

प्रतिकृया