नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण ‘हावादारी’
प्रकाशित मिति
२०७७ भाद्र १४ गते, आईतवार ०७:४९
काठमाडौं,
प्रक्षेपण १
अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ।
प्रक्षेपण २
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो।
प्रक्षेपण ३
नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनुपर्छ।’
नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन्। अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन्। जुनदेखि सेप्टेम्बर ९असार १७ देखि भदौ १५ गतेसम्म० प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ। जुलाईदेखि अक्टोबर ९साउन १७ देखि कात्तिक १५ सम्म० संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन्। कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर (समूहमा) र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डे अक्सफोर्डको प्रक्षेपण गलत रहेको दाबी गर्छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीको बेला यस्ता भ्रम फैलिरहन्छन्। यस्ता हल्ला र भ्रमको विश्वास गर्नु आवश्यक छैन।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।






प्रतिकृया