• १०:४० २०८० चैत्र १६ गते
  • 10:40 am

राष्ट्रकविको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा दुःख व्यक्त

प्रकाशित मिति

२०७७ भाद्र ३ गते, बुधबार १२:३२

sahi

काठमाडौँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० ले दुःख व्यक्त गरेको छ । समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन भएको दुःखद समचारले अनेसास परिवार स्तब्ध भएको बताउनुभएको छ ।
“नेपाली शास्त्रीय छन्दका कविता र गीति कविताका माध्यामबाट नेपाली साहित्यलाई दर्जनौँ कालजयी कृति दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभएका राष्ट्रकविको परलोक गमनसितै नेपाली साहित्यको एक युगको अवसान भएको छ,”–विज्ञप्तीमा भनिएको छ ।
अनेसास बोर्ड अफ ट्रष्टिका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले नेपाली साहित्य क्षेत्रको विकासका लागि राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभयो । नेपाली साहित्यको इतिहासलाई वजनदार बनाएर राष्ट्रकवि विदा भएको उहाँको भनाइ छ ।

अनेसासले एक शताब्दी लामो उतारचढावपूर्ण जीवन बिताएर १०१ वर्षको उमेरमा परलोक हुनुभएका राष्ट्रकविको चिरकाल बैकुण्ठमा बासको कामना समेत गरेको छ । राष्ट्रकविसितको वियोगको यस शोकाकुल घडीमा धर्मपत्नी, छोराछोरी, सकल परिवारजन तथा देश विदेशमा रहनुभएका नेपाली भाषा साहित्यका साधक तथा शुभचिन्तकमा अनेसासले हार्दिक समवेदना प्रकट समेत गरेको छ ।
रासस

प्रतिकृया