• ८ असोज २०८३, बिहीबार
  • १२ः०७ दिउँसो

कृषकलाई परिचयपत्र

प्रकाशित मिति

२०७७ श्रावण २४ गते, शनिबार ०१:१२

दमौली, कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न तनहुँको भिमाद नगरपालिकाले परिचयपत्र प्रदान गर्ने भएको छ । व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न नगरपालिकाले कृषकलाई परिचयपत्र प्रदान गर्न लागेको हो ।

National Life

नगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र वितरण गर्ने उल्लेख गरेको छ । व्यावसायिक रुपमा कृषि पेशा अङ्गालेका कृषकलाई पहिचानका लागि परिचयपत्र वितरण गर्न लागिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । त्यसका लागि नगरपालिकाले नौवटा वडामा रहेका कृषकको तथ्याङ्क सङ्कलन गर्नेछ ।

“कृषि पेशालाई सम्मानित पेशा बनाउन र कृषि पेशा गरिरहेका कृषकलाई प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । कृषकलाई परिचय वितरण गरेपश्चात् कृषि लक्षित कार्यक्रममा अनुदानलगायत सहयोग गर्न सहज हुने विश्वास गरिएको नगरप्रमुख थापाले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँका अनुसार कृषकलाई पूँजी अभाव हुन नदिन व्यावसायिक कृषकलाई सहकारीमा आबद्ध गर्ने नीति अवलम्बन गरिएको छ । ‘एक उत्पादन ः एक पकेट क्षेत्र’ कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न व्यावसायिक उत्पादनमूलक समूह तथा सहकारीलाई विशेष प्रोत्साहन गरिने थापाले जानकारी दिनुभयो ।

उन्नत घाँस खेतीतर्फ कृषकलाई उत्प्रेरित गर्दै पशु आहारमा वृद्धि ल्याउन व्यापकरुपमा उन्नत घाँसको विकास गर्ने र उपयुक्त स्थानलाई घाँसको बीउ उत्पादन गर्ने स्रोत केन्द्रका रुपमा विकास गर्ने नगरपालिकाको सोच छ । जैविक विविधताको संवद्र्धन र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकूल प्रविधिको विकास गरी कृषिजन्य उत्पादनमा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने, पशु उत्पादकत्व वृद्धि गर्न नस्ल सुधारका लागि कृत्रिम गर्भाधान तथा उन्नत ब्याड वितरण गर्ने कार्यलाई प्राथमिकतापूर्वक सञ्चालन गरिने नगरप्रमुख थापाले बताउनुभयो ।

माटो परीक्षणको अभावमा कृषि उत्पादन वृद्धि हुन नसक्ने हुनाले प्रत्येक महिनाको एकपटक माटो परीक्षण गर्ने गरी माटो परीक्षण क्लिनिक सञ्चालन गरिनेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले कृषि विकास, पशु विकास, दूध उत्पादन तथा सहकारीको प्रवद्र्धन र विकासका लागि नवीन प्रविधि सम्भाव्य बस्तीको पहुँचमा ल्याउन सहकारी तथा कृषक समूहलाई संस्थागत विकास र व्यावसायिक तालीम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्किएका व्यक्तिको श्रम, पूँजी, सीप र रुचिका आधारमा कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रमा आवश्यकताअनुसार रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने थापाले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्रलाई विभिन्न वस्तुको पकेट क्षेत्र तथा स्रोत केन्द्रका रुपमा विकास गर्ने गरी कार्य अगाडि बढाएको छ । भिमाद नगरपालिका–९ को भानुमतीमा सञ्चालित मुख्यमन्त्री वातावरण मैत्री नमूना गाउँमा प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र, उच्च प्रविधिको नर्सरीलगायत पूर्वाधार निर्माण भइरहेको छ ।

कृषि उत्पादनमा प्रत्यक्ष योगदान हुने सिंचाइ सुविधालाई भरपर्दो बनाउन नगरपालिका क्षेत्रका कच्ची कुलोलाई पक्की कुलोमा परिणत गरिएको छ । साना कुलोहरु नगरपालिका आफँैले र मझौला कुलो प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा निर्माण गर्ने नीतिबमोजिम एक हजार ५७१ मिटर कच्ची कुलो स्तरवृद्धि गरी पक्की बनाइएको नगरपालिकाले जनाएको छ ।
रासस

प्रतिकृया