बजेट खर्च सन्तोषजनक
प्रकाशित मिति
२०७७ श्रावण २० गते, मंगलवार ०८:५७
रुपन्देही, रासस । कोभिड—१९ ले सिर्जना गरेको असहज अवस्थाका बाबजुद प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६-७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा तीन दिनसम्म चलेको वार्षिक प्रगति समीक्षाबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले सरकारले पूँजीगत तर्फ ७९ दशमलव २९ प्रतिशत र चालूतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभयो ।
उहाँले अन्य प्रदेशको तुलनामा प्रदेश नं ५ सकारले पूँजीगत खर्च गत वर्षको भन्दा पनि राम्रो गर्न सफल भएको उल्लेख गर्दै कोभिड–१९ का बाबजुद पनि सरकारले गरेको खर्चलाई सन्तोषजनक रुपमा विश्लेषण गरिएको बताउनुभयो । यसअघि समीक्षामा मुख्यमन्त्री शङ्कर पोखरेलले उपलब्धिका सूचक देखिने गरी बजेट खर्च गर्न निर्देशन दिनुभएको थियो । उहाँले नतिजामुखी र उपलब्धिका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिनुभएको हो ।
“बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले गत आव धेरै अप्ठ्यारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले चालू आवमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयो । सिँचाइ र खानेपानीको दिगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न उहाँले निर्देशन दिनुभयो ।
त्यसैगरी उहाँले यातायात व्यवस्था कार्यालय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । उहाँले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन सकिने भएकाले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।
कर्मचारी हेरफेर भदौभित्र गर्न तथा कार्यसम्पादन र मूल्याङकनका आधारमा हेरफेर गर्न उहाँले निर्देशन दिनुभयो । रिक्त दरबन्दीमध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी त्यसको पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गर्नुभयो । उहाँले कोभिडको दोस्रो चरण आएको बताउँदै त्यसले भारतमा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढेकाले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रमअघि बढाउन निर्देशन दिनुभयो । दोस्रो चरणमा लक्षण सहितका बिरामीको सङ्ख्या बढेकाले उहाँले आइसियुको क्षमता बढाउनुपर्ने बताउनुभयो । कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेकाले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी सिर्जना गर्ने गरी काम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।






प्रतिकृया