• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

सगरमाथा क्षेत्रका पर्यटक दोब्बरले ह्रास

प्रकाशित मिति

२०७७ श्रावण १५ गते, बिहीबार ०३:२२

सोलुखुम्बु, गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६÷७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५३५ विदेशी र एक हजार १०२ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् जसमा एक हजार १६७ सार्क राष्ट्रका पर्यटक छन् । भ्रमण वर्ष २०२० को शुरुआती चरणमै कोरोना भाइरसको जोखिम उच्च भएपछि पर्यटन क्षेत्रमा ठूलो असर परेको टानका प्रथम उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ थियो । सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको सङ्ख्यासमेत दोब्बरले घटेको व्यवसायीको भनाइ छ ।

Kamana Sewa

आव २०७५÷७६ मा ५७ हजार २९८ ले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भएपनि गतवर्ष यसको सङ्ख्या करिब दोब्बरले घट्नका पछाडि कोरोना भाइरसको महामारी प्रमुख रहेको छ । यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले आव २०७६÷७७ मा रु साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट रु नौ करोड ५७ लाख ६० हजार ९९४ राजश्व सङ्कलन भएको हो ।

Classic Tech Desktop

वन रोयल्टीबाट रु नौ करोड ४२ लाख ४३ हजार ९६१, अन्य प्रशासनिक सेवा शुल्कबाट रु चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट रु १० लाख ९२ हजार ८०२ सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार रु १६ हजार २३० बेरुजु असुली गरिएको छ ।

निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौँको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट रु आठ करोड ५६ लाख ११ हजार ९९४ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट रु एक करोड १४ लाख नौ हजार सङ्कलन भएको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु एक हजार ५०० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेवापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
रासस

प्रतिकृया