कोरोना अपडेटः १४७ जना नयाँ संक्रमित, १५६ डिस्चार्ज, एक जनाको मृत्यु
प्रकाशित मिति
२०७७ श्रावण ८ गते, बिहीबार ०५:५५
काठमाडौं । नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको कोरोना परीक्षण गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
गौतमका अनुसार वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।






प्रतिकृया