चट्याङ लागेर सप्तरीमा ३ जनाको मृत्यु, २ जना घाइते
प्रकाशित मिति
२०७७ असार ११ गते, बिहीबार ११:४०
राजविराज, चट्याङ लागेर सप्तरीमा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान कोशीमा नुहाउन गएका बेला कोशी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको रहेको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।
यसैगरी डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादवको चट्याङ लागेर मृत्यु भएको हो । घरमा पूजा लगाएर नुहाउन गएका छेदी र बेचन कोशी ब्यारेज पुगेका थिए भने ललितादेवी खेतमा धान रोप्न गएका बेला चट्याङ लागेको हो ।
यस्तै चट्याङ लागेर सप्तरीको राजगढ गाउँपालिका बेल्ही चपेनामा २ जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका ४५ वर्षीय केसी साह र आँगंनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।






प्रतिकृया