सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्न आयोगमा सिफारिस
प्रकाशित मिति
२०७७ असार ८ गते, सोमबार ०३:०५
काठमाडौं, राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने १७ हजार १ सय ८५ जना राष्ट्रसेवक कर्मचारीलाई कारबाहीको लागि आयोगमा सिफारिस गरेको हो ।
आइतबार केन्द्रले सबै सरकारी निकायका कर्मचारीले सम्पत्ति विवरण नबुझाएको अनुगमन गरि तयार पारेको प्रतिवेदन अख्तियारमा पठाई कारबाही गर्न सिफारिस गरेको हो ।

अख्तियारले भ्रटाचार निवारण ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारीलाई ५ हजार रुपैयाँका दरले जरिवाना गर्नेछ । सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिनसमेत अघि बढाउन सक्ने कानुनी व्यवस्था छ ।

भ्रष्टाचार निवारण ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीले नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्ने र हरेक वर्ष अध्यावधिक गर्दै जानुपर्ने व्यवस्था छ । केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा संघका १२ हजार १ सय ३३, प्रदेशका ५ सय ५४ र स्थानीय तहका ४ हजार ४ सय ९८ जना कर्मचारी छन् ।
सबै सरकारी सेवाका कुल ६ लाख ६ हजार ७ सय १० जना कर्मचारीमध्ये ५ लाख ८९ हजार ५ सय ५२ जनाले सम्पत्ति विवरण बुझाएका छन् । केन्द्रका अनुसार निजामती प्रशासनका २ हजार ५ सय ४, नेपाली सेनाका ४ सय ६०, दुवै प्रहरी संगठनका ३ सय ३३, प्राध्यापकरशिक्षक ७ हजार ६ सय २६, प्रदेश, स्थानीय तह र जिल्ला समन्वय समितिका १ हजार ४ सय ३२ जना छन् ।
अघिल्लो वर्षभन्दा यस वर्ष सम्पत्ति विवरण बुझाउने कर्मचारीहरूको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ९६।६९ प्रतिशतले सम्पत्ति विवरण बुझाएकामा यस वर्ष ९७.१९ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् ।




प्रतिकृया