अंगीकृत नागरिकतासम्बन्धी नयाँ प्रस्तावमा सहमति जुटाउन गृहमन्त्रीले मागे समय
प्रकाशित मिति
२०७७ असार ३ गते, बुधबार ०६:०८
काठमाडौं, सरकारले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेको छ। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उक्त विधेयकमाथिको छलफलमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले अंगीकृत नागरिकताका विषयमा आएको नयाँ प्रस्तावमाथि राजनीतिक सहमति जुटाउन समय माग्नुभएको हो ।
मंगलबारको समिति बैठकमा सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्न प्रस्ताव गर्नु भएको थियो ।
त्यस विषयमा बुधबार आयोजित छलफलमा गृहमन्त्री थापाले राननीतिक र सरकारी रुपमा छलफल भएको र राजनीतिक तहमा सहमति भएपछि समितिमा पनि टुङ्ग्याउन सकिने बताउनु भयो ।
समितिले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सहमति जनाएको छैन । उसले अंगीकृत नागरिकताको विषयमा हाल भइरहेको व्यवस्था वा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले चाहेमा नागरिकता लिने व्यवस्था नै राख्नुपर्ने अडान लिएको छ।





प्रतिकृया