पत्रकारलाई समयमै तलब नदिए र कामबाट निकाले आन्दोलन गर्ने महासंघको निर्णय
प्रकाशित मिति
२०७७ असार ३ गते, बुधबार ०३:५५
काठमाडौं, नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ। महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो।

कोरोना भाइरस कोभिड–१९ को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजीनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।
महासङ्घले एक साताभित्र सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासङ्घलाई गराउनसमेत आग्रह गरेको छ। एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ। श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै सङ्घ–संस्थामा अपिल गरेको छ।





प्रतिकृया