• २० भदौ २०८३, शनिबार
  • ७ः४५ बिहान

आजबाट कोरोनाको र्‍यापिड टेष्ट सुरु

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०९:११

 

National Life

काठमाडौं । सरकारले सुदूरपश्चिम प्रदेशमा समुदायस्तरमा कोरोना भाइरस संक्रमणको र्‍यापिड टेष्ट सुरु गर्ने भएको छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो ।
त्यसअनुसार प्रधानमन्त्री कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ, जसमा क-कसलाई आरडीटी प्रविधिबाट गर्ने परीक्षणमा संलग्न गर्ने भन्ने उल्लेख छ ।

Classic Tech Desktop

 

सरकारले र्‍यापिड टेष्टका लागि चैत महिनामा नेपाल प्रवेश गरेका, बागलुङका कोरोना संक्रमित व्यक्तिहरुको बासस्थान वरपरका, कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका व्यक्तिहरु टेष्ट गर्ने भएको छ ।

कैलालीमा विदेशबाट आएका एक संक्रमितबाट परिवारको सदस्यमा संक्रमण सरेको र कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण देखिए छ । यसकारण सो क्षेत्रमा खतरा बढेको छ ।

र्‍यापिड टेष्टका लागि छनोट भएको बागलुङमा भने दुई जना संक्रमित भेटिएका छन् र, उनीहरु दुवै बेल्जियमबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएका थिए ।

तर विदेशबाट आएपछि होम क्वारेन्टाइनमा नबसेका कारण त्यहाँ पनि स्थानीय स्तरमा संक्रमण फैलिएको आशंकामा परीक्षण गर्न लागिएको हो ।

टेष्ट किट स्वीकृत, टोली तयार

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीका अनुसार आइतबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍यापिड टेष्ट किट प्रयोगका लागि सहमति दिएको छ ।

उनकाअनुसार र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण गर्दा नेगेटिभ आयो भने त्यो रिजल्टलाई ९९.९९ प्रतिशत सही सकिन्छ । तर पोजेटिभ आयो भने पीसीआर विधिबाट पुनः परीक्षण गरिनेछ ।

र्‍यापिड टेष्टमा पोजेटिभ आएको व्यक्तिको पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आउने सम्भावना १० प्रतिशत हुने भन्दै उनले अनलाइनखबरसँग भने, ‘त्यसैले यो एक प्रकारले स्त्रिmनिङ हो, यसले हामीलाई सम्भावित संक्रमित पत्ता लगाउन मद्दत गर्छ ।’

सुरुमा ३००, त्यसपछि २० हजारको परीक्षण

आइतबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त बैठक बसेर र्‍यापिड टेष्टमा खटिने १४ जनाको टोलीलाई अभिमुखीकरण तालिम दिएको थियो । तालिमप्राप्त एउटा टोली बागलुङ र अर्को टोली सुदूरपश्चिमतिर सोमबार (आज)प्रस्थान गर्ने भएको छ ।

सुदूरपश्चिम जाने टोलीले सुरुमा कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सुरु गर्ने जानकारी दिइएको छ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय, धनगढीका प्रमुख डा. गुणराज अवस्थीका अनुसार कैलाली र कञ्चनपुरमा ६०० तथा प्रदेशभरमा करिव २ हजार मानिस स्थानीय तहको क्वारेन्टाइनमा छन् । प्रदेशमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुको संख्या भने ठूलो छ, जसको तथ्यांक स्थानीय तहले संकलन गर्दैछ ।

प्रयोगशालाका अधिकारीहरुकाअनुुसार प्रारम्भिक चरणमा ३०० जनाको मात्र टेष्ट गर्ने योजना छ । त्यसक्रममा भाइसल ट्रान्सपोर्ट मिडियामा पनि नमुना संकलन गरिनेछ र प्रदेशमा रहेको ल्याबमा पीसीआर विधिबाट पनि पुनः परीक्षण गरिने भएको छ ।

र्‍यापिड टेष्ट किट र पीसीआरको विधिबाट गरिने टेष्ट मेल खाएमा टेष्टले तिव्रता पाउनेछ । कोरोना सम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार सात(दश दिनमा करिब २० हजार मानिस परीक्षणको दायरामा आउन सक्छन् । उनले भने, ‘कैलाली र कञ्चनपुरपछि एचआईभी एड्स लगायतका दीर्घ रोग बढी देखिएको डोटी, अछाम, जुम्ला लगायतका जिल्लामा र्‍यापिड टेष्ट गर्छौं ।’

बागलुङमा करिव ९०० को टेष्ट

बागलुङमा भने कोरोना संक्रमितको बासस्थान र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गरिने छ । चैत महिनामा विदेशबाट फर्किनेहरुलाई पनि र्‍यापिड टेस्टमा समावेश गर्ने तयारी रहेको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए । बागलुङमा ८ सय १५ जना विदेशबाट फर्किएका व्यक्तिहरु छन् ।

संक्रमित व्यक्तिका बासस्थान र उनीहरुको सम्पर्कमा आएका व्यक्ति गरी ९ सय जना जतिको टेस्ट हुन सक्ने गुरौको विश्लेषण छ । गुरौले भने, ‘काठमाडौंबाट निर्देशनसहितको टोली आएपछि मात्रै सम्पूर्ण कुराको तयारी हुन्छ । चिकित्सकलाई तालिम दिएर टेस्टको काम अगाडि बढाउनुपर्ने हुनसक्छ ।’

प्रतिकृया