विश्वकै वृद्ध प्रधानमन्त्री महाथिरले दिए राजीनामा
प्रकाशित मिति
२०७६ फाल्गुन १३ गते, मंगलवार ०६:४३
एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । ९४ वर्षीय बयोवृद्ध नेता महाथिरले मलेसियालाई आर्थिक शक्ति राष्ट्रका रूपमा संसारमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाको सत्तामा बसेका महाथिर लोकप्रिय नेता हुन् ।
उनले आफ्नो राजीनामा राजासमक्ष बुझाएका छन् । उनले सन् २०१८ मा पछिल्लो पटक आमनिर्वाचनमा जित्नुअघि जेलमा रहेका नेता अनवर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नका लागि राजीनामा दिएको विश्वास गरिएको छ ।
उनी सन् २०१८ मा संसारकै सबैभन्दा बयोवृद्ध उमेरमा प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । कुनै समय उनकै उत्तराधिकारी मानिने नजिब रज्जाकले पदमा रहँदा ठूलो भ्रष्टाचार गरेको सार्वजनिक भए पनि उनले सो पार्टी नै छाडेर नयाँ दल बनाएर चुनावमा होमिएका थिए ।
रज्जाक करोडौँ सरकारी रकम हिनामिनाको आरोपमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । प्रधानमन्त्री कार्यालयले स्थानीय समयअनुसार दिउँसो १ बजे राजीनामा राजालाई बुझाएको जानकारी गराएको छ । तर राजीनामाबारे कुनै विस्तृत विवरण दिइएको छैन ।
प्रतिकृया