सांसद बस्नेतद्धारा खानेपानी ट्याङ्कीको उद्घाटन
प्रकाशित मिति
२०७६ पुष २० गते, आईतवार १२:५१
भक्तपुर, सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति तथा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समति युवा क्रियाकलाप समाजद्वारा १०० घ.मि. खानेपानी ट्याङ्कीको उद्घाटन भएको छ ।
११ आना जग्गामा रु ४३ लाखको लागतमा एक लाख ३० हजार लिटर क्षमता भएको उक्त ट्याङ्कीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शनिबार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले समग्र भक्तपुरको विकास र समृद्धिको विगत, वर्तमान र भविष्यको वारेमा विश्लेषण गर्दै आफ्नो नेतृत्वमा आगामी दिनमा आधुनिक र समृद्ध भक्तपुरका योजनाहरु जनतमाझ स्पष्ट पार्नुभएको छ । विगतका जनप्रतिनिधिका कारण भक्तपुर विकासले तिर्खाएको उल्लेख गर्दै उहाँले आगामी दिनमा भक्तपुरका जनताले विकासको तिर्खा मेट्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
विगत लामो समयसम्म भक्तपुर आफ्नो घर हो भन्दा शिर झुकाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा शिर ठाडो बनाएर गौरवका साथ मेरो घर भक्तपुर हो भन्ने अवस्था सिर्जना भएको दावी गर्नुभयो । वर्तमान समयका जनप्रतिनिधि निर्वाचित भएसँगै भक्तपुरमा सडक, ढल, खानेपानी, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, ठूला साना पुललगायतका असंख्य योजनाहरु व्यापक मात्रामा अघि बढेको जानकारी गराउनुभयो ।

जनताको आवश्यकता र चाहना अनुसार सडक विस्तार हुने बताउँदै उहाँले सडक नभएकोमा सडकको निर्माण, कच्ची सडक भएकोमा ग्राभेल, ग्राभेल भएकोमा कालोपत्रे, साना सडक भएको ठाउँमा ठूला ठूला सडक निर्माणको क्रममा रहेको समेत उहाँले विस्तृत रुपमा उल्लेख गर्नुभयो । भक्तपुरका जनतामा हासो र चमक आउन प्रकारका काम भइरहेको उल्लेख गर्दै उहाँले प्रशासनीक तथा नीतिगत कुराहरुले केही मात्रामा भएका समस्याहरुलाई ढिला भएपनि व्यवस्थित रुपमा संचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा ८ का वडाध्यक्ष किरण थापा, गैरसरकारी महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट सहयोग गर्नेलाई सम्मान गरिएको थियो । उक्त ट्याङ्की निर्माणसँगै सिपाडोलमा खानेपानीको समस्या न्युनिकरण भएको छ ।







प्रतिकृया