• २८ भदौ २०८३, आइतबार
  • ९ः०७ राती

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने करवृद्धि स्थगित

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०१:२६

एजेन्सी, चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।

National Life

चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको छ, र ‘अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ,’ चिनियाँ अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रथम चरण’को व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए ।

चीनको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकासँग एउटा सम्झौतामा सहमति भएको र त्यसमा करवृद्धिलाई स्थगन गर्ने तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समावेश गरिने उल्लेख रहेको स्पष्ट गरेको छ । तथापी, दुबै पक्षले यो सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विद्यमान करका दरको अतिरिक्त राष्ट्रपति ट्रम्पले यसअघि करिब १६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिएका थिए जसमा अमेरिकी उपभोक्ताहरुमाझ लोकप्रिय इलेक्ट्रोनिक्स र कपडा जस्ता वस्तुहरू पनि समावेश थिए ।

अमेरिकी घोषणाको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो । यो करवृद्धि प्रस्ताव गत वर्ष नै घोषणा गरिएको भएपनि अमेरिकासँगको व्यापार वार्तामा सहज वातावरण निर्माणका लागि भन्दै चीनले पछि यी करवृद्धि प्रस्ताव स्थगित गरेको थियो ।

प्रतिकृया