कार्यभार सम्हाल्दै मेयर राईद्धारा करको दर पुनरावलोकन गर्ने निर्णय
प्रकाशित मिति
२०७६ मंसिर १९ गते, बिहीबार १२:१८
धरान, धरान उपमहानगरका मेयर तिलक राईले कर पुनरावलोकन गर्ने निर्णय गर्नुभएको छ । बुधबार कार्यभार सम्हाल्दै राईले राजस्व र करको दर पुनरावलोकन गर्ने निर्णय सदर गर्नु भएको हो । उपमहानगरका प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले कर र राजस्व पुनरावलोकन गर्न विज्ञ सम्मेलित अध्ययन कार्यदल बनाउने प्रस्ताव कार्यपालिका बैठकमा लैजान गरेको प्रस्तावलाई मेयर राईले सदर गर्नु भएको छ ।
अब केही समयपछि बस्ने नगरकार्यपालिका बैठकमा कर घटाउने प्रस्ताव लगिने मेयर राईले बताउनुभयो । करलाई व्यवहारिक र वैज्ञानिक बनाउने प्रस्ताव सदर गरेको छु,’ उहाँले भन्नुभयो, ‘कर पुनरावलोकन गर्न राजनीतिक दलबाट पनि सहयोग मिल्नेछ।’

नगरवासी र राजनीतिक दलको भावनाअनुसार कर पुनरावलोकन गरी कार्यान्वयनमा ल्याइने मेयर राईले बताउनुभयो । ‘स्थानीय सरकारमा पक्ष र प्रतिपक्ष हुँदैन,’ उहाँले भन्नुभयो, ‘कुनै पार्टी विशेष र व्यक्तिगत कुनै निर्णय हुँदैन। नगरवासीको हितमा हुने गरी सबै निर्णयहरू हुनेछन्।’

उहाँले कर्मचारीलाई क्रियाशीलताका साथ काम गर्न पनि आग्रह गर्नुभएको छ । मत दिएर जिताउने नगरवासीलाई धन्यवाद दिएका उहाँले आफ्नो जित सबैको जित भएको पनि बताउनुभयो । ‘यो सबै दलको जित हो, नगरवासीको जित हो,’ उहाँले भने, ‘अब सबै एक भएर विकास निर्माणका काम गर्नुपर्छ।’




प्रतिकृया