भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७६ भाद्र २४ गते, मंगलवार ०४:४४
भक्तपुर, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरुले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर व्यवसाय धरासायी बनाएको बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग महासंघका केन्द्रीय अध्यक्ष लीला जिसीले सरकारले साना व्यवसायीलाई करको चाङ्ग थोपरेको तर ठूला व्यवसायीलाई भने जे गरेपनि छुट दिएर विभेद गरेको बताउनुभयो ।
उहाँले सरकारले कर नतिर्ने ठूला कम्पनीहरुलाई केही गर्न नसकेको तर साना व्यवसायीलाई भने ताला लगाईदिन्छौ भनेर धम्क्याउने गरेको बताउदै जनताले बुझाएको करबाट तलब भत्ता खाने जनप्रतिनिधीले प्यान लिनु नपर्ने तर भाडा मोलेर पाँचसय रुपैया कमाउने मजदुरलाई भने अनिवार्य प्यान लिनुपर्ने बाध्यकारी व्यबस्था नमान्ने बताउनुभयो । अध्यक्ष जिसीले मन्त्रीदेखि सांसदसम्म, प्रदेशदेखि नगरसम्मका जनप्रतिनिधीले आफ्ना छोराछोरी, भाईभतिजालाई पिए र सल्लाहाकारका नाममा तलब भत्ता लिनेका लागि प्यान नचाहिने तर दैनिक ज्यालादारी काम गर्नेलाई अनिवार्य प्यान लिनुपर्ने व्यबस्थाले व्यबसायलाई संकटमा पारेको भनाई राख्नुभयो ।
पार्टी प्यालेसहरुले देशभरमा ५० हजार भन्दा बढीलई प्रतक्ष्य रोजगारी दिएको र अर्को एक लाखलाई अप्रतक्ष्य रोजगारी दिएको भन्दै सरकारले जबरजस्ती गरे सबै मजदुरलाई लगेर श्रम मन्त्रालय घेराऊ गर्ने भनाई राख्नुभयो । सरकारले पार्टी प्यालेस एवं क्याटरिङ्ग व्यबसायलाई पनि सेवा मूलक संस्थाका रुपमा सूचित गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा संघका भक्तपुर अध्यक्ष एवं कार्यक्रमका सभापति सचिन श्रेष्ठले भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग संघ सेवा मूलक कार्यमा पनि सक्रिय रहेको बताउदै ट्राफिक भवन निर्माणका लागि एक लाख पचार हजार रुपैया प्रदान गरिएको र महासंघको अक्षयकोष स्थापनाका लागि रु. ५० हजार प्रदान गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति लगायत विभिन्न प्रदेश तथा जिल्लाबाट सहभागि हुनुभएका प्रतिनिधीहरुले सरकारले लगाएको तीन तहको कर र प्यान लिनुपर्ने व्यबस्थालाई नहटाए आन्दोलन गरिने बताउनुभयो ।
कार्यक्रममा संघले भक्तपुरमा निर्माण भईरहेको महानगरीय ट्राफिक प्रहरी परिषर भक्तपुरको भवन निर्माणका लागि रु. १ लाख ५० हजार सहयोग रकम भवन निर्माण समितिका अध्यष नविन प्रजापतिलाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि भक्तपुरमा संघको स्थापना गर्ने संघका संस्थापक अध्यक्ष पृथ्वीभक्त प्रजापति र संघको प्रथम भेलाको संयोजक कृष्णशरण चौगुठीलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।








प्रतिकृया