दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्छ :उपप्रधानमन्त्री पोखरेल
प्रकाशित मिति
२०७६ भाद्र २३ गते, सोमबार ०५:४५
भक्तपुरको पर्यटकीय क्षेत्रको विकास नै आर्थिक तथा सामाजिक विकास र समृद्धिको आधार हो : सांसद बस्नेत
भक्तपुर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्ने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको पुननिर्मित ऐतिहासिक अन्नतलिङ्ेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले विकाश गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
दलिय द्धन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकाशको विरोध गर्ने उहाँको भनाई थियो । सुखी नेपाली संम्वृद्ध नेपालको राष्ट्रिय आकाक्षा पुरा गर्न सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो ।
अहिले विकासका काममा सेवा प्रदायक सरकारी कार्यालयहरुबीच कतिपय अबस्थामा आवश्यक समन्वय नभएको उल्लेख गर्दै उहाँले सरकारले नीति नियम बनाएर समन्वय गर्दा देखा परेको गाँठो फुकाउने पहल सुरु गरिसकेको बताउनुभयो ।
उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले राज्यका ३ तहका सरकारबीच कर्तब्य र अधिकार बाँडफाँडका कतिपय सन्दर्भमा आपसी समन्वयको अभाव जस्तो देखिए पनि अब ऐन कानुन निर्माण पछि राज्यका तीनै तहले अझै प्रभावकारी काम गर्ने बिचार ब्यक्त गर्नुभयो ।
उहाँले कम्युनिष्टले धर्म मान्दैनन् भन्नु गलत भएको बताउँदै सार्वजनिक ठाउँमा नयाँ मठ ,मन्दिर बनाउनुभन्दा भएका पुराना सम्पदाको संरक्षण,प्रबद्र्धन र प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो । बिकासका नाममा सभ्यता र संस्कृतिको बिनाश गर्न नहुने बताउँदै बिकासमा जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का युवा नृता, पुर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जिल्लामा तथा पर्यटकीय क्षेत्रको विकास नै आर्थिक तथा सामाजिक विकास र समृद्धिको आधार भएको बताउनुभएको छ ।
भक्तपुरको विकास अतुलनिय रहेको बताउँदै उहाँले नेपाल विश्वको तुलनामा विद्वान, वेद, पौराणीक तथा ऋषीहरुको देश भएको बताउनु भयो । उपत्यकाका तीनवटै जिल्ला, २२ वटा हिमालका दृष्यहरु देख्न सकिने उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा रहेको जानकारी गराउँदै उहाँले उक्त स्थानमा पोखरी, सामुदायीक भवन, खानेपानीलगायतका कार्यहरुको विकास गर्ने प्रकृया अघि बढेको बताउनुभयो । मास्टर प्लानको फलो गरी अन्य विकास गर्नुपर्ने बताउँदै सांसद बस्नेतले उक्त मन्दिर क्षेत्रमा गुँरास पार्क, पिकनिक स्पोर्ट, धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै भक्तपुर आगामी दिनमा मूख्य आकर्षणको रुपमा विकास गर्ने लगायतका योजनाहरु रहेको जानकारी बताउनुभयो ।
कार्यक्रममा मन्दिर पुननिर्माणमा महत्वपुर्ण सहयोग पुर्याएकोमा पुर्व मन्त्रीद्धय महेश बस्नेत र आनन्दप्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षति पुगेको मन्दिरको तीन वर्ष तीन महिनापछि पुुन निर्माण सम्पन्न भएको हो ।
मन्दिरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ ।
समाजसेवी कुमार उप्रेतीको व्यक्तिगत सहयोगमा रु ४ लाखको लागतमा मन्दिरको स्वर्ण गजूर प्रतिस्थापन गरिएको कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।











प्रतिकृया