नेकपाको दस्तावेजमै संविधान संशोधनीय
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०९:३७
प्रतिनिधिसभामा करिब दुई तिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट गरेको छ । मधेस केन्द्रित दलहरूले सविधान संशोधनको मुद्दा उठाउँदै आएका छन् । उनीहरूले संविधान संशोधनको मुद्दामा बेलाबेला संसद् अवरोध गर्नुका साथै आन्दोलन गर्ने बताउँदै आएका छन् । सङ्घीय समाजवादी फोरम संविधान संशोधनको सर्तमा वर्तमान सरकारमा सहभागी छ । उसले बेलाबेला संविधान संशोधनको मुद्दा उठाउने गरेको छ ।
नेकपाले प्रकाशनमा ल्याएको तर वितरण नगरेको राजनीतिक दस्तावेजमा संविधान गतिशील दस्तावेज हो भनेको छ । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय नरहेको उल्लेख छ ।
राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक नेपाली जनताले चाहेमा सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरा संविधानतः स्थापित भएको उल्लेख गर्दै नेकपाले यसलाई दूरगामी महत्वको परिवर्तन भनेको छ ।
(सुरेशकुमार यादव)
गोरखापत्र दैनिकबाट साभार






प्रतिकृया