मलेसिया मेडिकलबारे साढे ४ दर्जन गुनासो दर्ता
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार ०९:३०
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकालेको सूचना अनुसार ४ दर्जनबढी स्वास्थ्य संस्थाहरुले गुनासो÷उजुरी दर्ता गरेका छन् । मन्त्रालयले गत शुक्रबार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि निकालेको स्वास्थ्य संस्थाहरुको नतिजामा गुनासो बढेपछि मन्त्रालयले त्यसबारे कुनै गुनासो÷उजुरी भए लिखित निवेदन दिने समय मंगलबार सम्म तोकेको थियो । मन्त्रालय सुत्रका अनुसार मंगलबार साँझसम्म ५२ स्वास्थ्य संस्थाको गुनासो दर्ता भएको छ । तर उजुरीको आधिकारिक गणना भने हुन बाँकी छ ।
मन्त्रालयका सचिवलाई सम्बोधन गरी दिइएको उजुरीमा स्वास्थ्य संस्था अनुगमन टोलीले लापरबाही र पूर्वाग्राही तरिकाले चिनजान र लेनदेनको आधारमा आफूखुसी छनोट गरेको भन्दै सूचीकृत भएका ९९ स्वास्थ्य संस्थालाई पुनः अनुगमन तथा निरीक्षण गरेर मात्रै अन्तिम सूचीकरण सार्वजनिक गर्न माग गरेका छन् ।
कतिपयले अदालतमा मुद्दा विराचाराधीन रहेको अवस्थामा खारेज गर्नुपर्ने संस्थालाई मलेसियाका लागि समेत सूचीकरण गरिएको दाबी गर्दै ठगीको आरोपमा कारबाही भइरहेका संस्था र ती संस्थाको छाता संगठनको प्रतिनिधि विशेषज्ञ समितिको बैठकमा राखेर निर्णय गरिएकाले सूचीकरणको निर्णय प्रभावित भएको दाबी समेत गरिएको छ । केही उजुरीमा कतिपय काम नलाग्ने उपकरणलाई आधार मानेर प्रतिवेदन तयार गरिएकाले पुनः निरीक्षण गरिनुपर्ने माग समेत गरिएको बताइएको छ ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न यसअघि ३७ वटा मात्र स्वास्थ्य संस्थाले मान्यता पाएकोमा यस पटक आव्हान गरिएको आवेदन अनुसार आवेदन गरेका २ सय ५२ मध्ये ९९ वटा स्वास्थ्य संस्था छनोट भएका थिए । एक करोड रुपैयाँ भन्दा बढी खर्च गरेर तयार पारेको मेडिकलमा ४ सय रुपैयाँको किट्स नभएको भन्दै अयोग्य घोषित गरिएको भन्दै उनीहरुले त्यसमा मन्त्रालयले पुनर्विचार गर्नुपर्ने माग गरेका छन् । कतिपयले मेडिकलका संख्या ९९ र्पुयाएर मन्त्री गोकर्ण विष्टले नयाँ सिन्डिकेट खडा गरेको आरोप लगाएका छन् भने कतिपयले मन्त्रीले ३७ मेडिकलको सिन्डिकेट तोडिदिएको टिप्पणी गरेका छन् ।




प्रतिकृया