विश्वकप क्रिकेटः भारतको अपराजित यात्रा कायमै
प्रकाशित मिति
२०७६ असार १३ गते, शुक्रबार ०८:१६
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेष्ट इण्डिजलाई पराजित गरेको छ ।म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा बिहिबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई १२५ रनले पराजित गरेको हो
भारतले दिएको २६९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३४ ओभर २ बलमा अलआउट हुँदै १४३ रनमा समेटियो ।वेष्ट इण्डिजका लागि सुनिल एम्ब्रिसले ३१, निकोलस पुरनले २८, शिम्रन हिटमायरले १८, केमार रोचले १४, क्रिस गेलले ६ र कप्तान जासन होल्डरले ६ रन बनाए ।

भारतका मोहमद शामीले ४, जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले समान २/२ तथा हार्दिक पान्ड्या र कुलदीप यादवले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको थियो ।भारतका लागि कप्तान विराट कोहलीले ७२, महेन्द्र सिंह धोनीले अविजित ६८, लोकेश राहुलले ४८, हार्दिक पाण्ड्याले ४६, विजय शंकरले १४ र केदार जाधवले ७ रन बनाए ।
वेष्ट इण्डिजका केमार रोचले ३, कप्तान जेसन होल्डर र शेल्डोन कोट्रेलले २/२ विकेट लिए ।जितसंगै अपराजित रहेको भारत सेमिफाइनल नजिक पुगेको छ । वेष्ट इण्डिजलाई हराएर दोस्रो स्थानमा उक्लिएको भारतले ७ खेलबाट ११ अंक जोडेको छ । विश्वकपमा यो भारतको छैटौं जित हो ।
वेष्ट इण्डिजको भने यो पाँचौ हार हो । यो हारसंगै वेष्ट इण्डिज प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बनेको छ । पुछारबाट तेस्रो स्थानमा रहेको वेष्ट इण्डिजको ७ खेलबाट ३ अंक छ ।
यसअघि प्रतियोगिताबाट अफगानिस्तान र दक्षिण अफ्रिका बाहिरिसकेकेका छन् ।




प्रतिकृया