• १२ असोज २०८३, सोमबार
  • ९ः११ बिहान

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

प्रकाशित मिति

२०७७ फाल्गुन २२ गते, शनिबार ०८:२४

उद्योगमन्त्री लेखराज भट्ट नेपाल आयल निगमको थानकोटस्थित डिपोमा इन्धन भर्ने आधुनिक प्वाइन्टको उदघाटन गदै । 

National Life

काठमाडौँ: प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ। काठमाडौँ लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरिएको हो।

कार्यालय स्तरोन्नति अन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्याङ्क तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम सम्पन्न गरेर डिपो री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

करीब एक वर्षको अवधिमा परियोजनाको पहिलो चरण सम्पन्न भएको र डिपोमा व्यापक सुधार आएको जिकिर निगम व्यवस्थापनले गरेको छ। इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन ट्याङ्करमा तेल भर्ने प्वाइन्टको सङ्ख्या दोब्बर बनाइएको छ। यसका कारण तेल भर्न ट्याङ्कर लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ। डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ।

डिपोसँगै रहेको ३९ रोपनी जग्गामा ट्रक तथा ट्याङ्करको पार्किङ बनाइएको छ। जहाँ २०० भन्दा बढी ट्रक तथा ट्याङ्कर पार्किङ गर्न सकिने छ। डिपोको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइएको छ। त्यसअघि तारजालीले डिपोलाई घेरिएको थियो। डिपो घेर्ने पर्खालको भित्ररबाहिर पेटी निर्माण गरिएको छ। राजमार्गबाट डिपोसम्म पुग्ने सडक ढलान गरिएको छ।

रि–इन्जिनीयरिङ परियोजनाको दोस्रो चरण छिट्टै शुरु हुने र त्यसले पनि चाँडै मूर्तरुप पाउने निगमले जनाएको छ। निगमको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रादेशिका कार्यालयलाई आधुनिकीकरण गरी डिपोलाई स्तरोन्नति गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाका उपाय एवं प्रविधि अपनाइ रि–इन्जिनीयरिङ परियोजना सम्पन्न गरिएको कार्यालय प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। परियोजनाको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरे।

करीब १०६ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपोमा डिजल आठ हजार ४०० किलोलिटर, पेट्रोल छ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमताका ट्याङ्कहरू रहेका छन्। उक्त डिपोबाट दैनिक करीब ७०० किलोलिटर पेट्रोल, ९०० किलोलिटर डिजल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको प्रमुख यादवले जानकारी दिए।

सो अवसरमा उद्योगमन्त्री लेखराज भट्टले निगमको व्यवस्थापकीय तथा प्राविधिक सुधारमा ध्यान दिन आग्रह गर्दै पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘निगमलाई भण्डारण क्षमता वृद्धि गर्न सरकारी स्वामित्वमा रहेको जग्गा हेरिरहेका छौँ, जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको छ’, उनले भने।- रासस

प्रतिकृया