अनुसन्धान भन्छ – कोरोना खोपको प्रभावकारिता ९४ प्रतिशत सफल
प्रकाशित मिति
२०७७ फाल्गुन ४ गते, मंगलवार १०:१२
काठमाडौं: इजरायलमा कोरोना भाइरसविरुद्धको फाइजरको खोप लगाएका व्यक्तिमा गरिएको अनुसन्धानले ९४ प्रतिशत व्यक्तिमा खोप संक्रमण रोक्न प्रभावकारी रहेको देखिएको छ।
खोप लगाएका व्यक्ति मध्ये ९४ प्रतिशतमा संक्रमण रोक्न सफल भएको देखिएको पछिल्लो तथ्यांकले देखाएको छ। परीक्षण चरणमा जस्तै आम खोप अभियानको क्रममा पनि फाइजरको खोपको प्रभावकारिता उस्तै देखिएको हो।
खोपले संक्रमण रोक्न तथा गम्भीर अवस्थामा पुग्नबाट सबै उमेर समूहका व्यक्तिलाई जोगाएको देखिएको पब्लिक हेल्थ डक्टर प्राध्यापक हागाइ लेविनले बताएका छन्।
उनले भनेका छन्, ‘खोपले सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी काम गरेको देखिएको छ।’ इजरायलको ठूलो स्वास्थ्य कोष क्लालितले खोप लगाएका ६ लाख तथा नलगाएका ६ लाख जनामा संक्रमणको दर अनुगमन गरेको हो। यसक्रममा सबै उमेर समूह र स्वास्थ्य अवस्था भएका व्यक्तिको अवस्था विश्लेषण गरिएको हो।
तथ्यांकको विश्लेषणबाट खोप लगाएका व्यक्तिमा संक्रमणदर ९४ प्रतिशत कम देखिएको हो। लक्षण देखिएका व्यक्ति वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांकबाट यस्तो देखिएको हो।
लक्षण बिहीन व्यक्तिमा भने यो लागु हुँदैन वा अहिले अध्ययन भएको छैन। लक्षण देखिएका व्यक्तिमा गरिएको परीक्षणबाट खोप संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको प्राध्यापक लेविनले बताए।
खोपले संक्रमणपछिको गम्भीर स्वास्थ्य अवस्था आउनबाट लगभग सबैलाई रोकेको पनि उनले बताए। यो अवस्था सबै उमेर समूहका व्यक्तिमा उस्तै छ।
अध्ययनको तथ्यांक अहिलेसम्म औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन। तर खोपको प्रभावकारिताबारे शंका व्यक्त गर्नेहरुलाई सकारात्मक सन्देश प्रवाह गर्न यो अध्ययन उपयुक्त हुने अनुसन्धानकर्ता वैज्ञानिकले बताएका छन्।








प्रतिकृया