डोल्पामा भारी हिमपात हुंदा जुफाल बिमानस्थल बन्द
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०२:००
डोल्पा: यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ। डोल्पामा बिहीबार रातिबाट वर्षासाथै हिउँले अधिकांश भू(भाग ढाकेको छ। हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो।
माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन्। पानी र हिउँ परेपछि केही राहात मिलेको कृषक राजकुमारी बुढाले जनाएकी छन्। उनले भनिन्,’ हिउँदे बाली गहुँ,उवा,चौँलगायतका बाली पूरै सुकेका थिए, अब यो हिमपातले थोरै भएपनि आशा पलाएको छ।’
हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले जनाए । लामाले भने,’ यता अन्नबाली लागउन पनि सजिलो। अब पाटनमा यार्सागुम्बा पनि हुन्छ। हिउँ नै कृषकका लागि मल हो जति धेरै हिउँ परे उति कृषकलाइ फाइदा हुन्छ। ’
हिमपात भएसँगै माथिल्लो डोल्पामा स्थानीय घर बाहिर जान कठिन भएको स्थानीय सोनाम फुन्जो गुरुङले जानकारी दिए। उनले भने,’ अब तल्लो डोल्पा जान र आउन सकिदैन। फागुनको अन्तिम वा चैत्रमा मात्रै बाटो खुल्छ। हामी घरमै बस्न बाध्य भएका छौं।’
हिमपातका कारण जुफाल बिमानस्थलमा उडान नहुँदा यात्रु बिमानस्थलमै थन्किएका छन् भने पैदल यात्रु प्रभावित भएका छन्। डोल्पाको तामक्रम माइनस १० भन्दामाथि पुगेको छ।








प्रतिकृया