आज दुई लाख कार्यकर्ता दरबारमार्गमा, प्रधानमन्त्रीओलीसहित तीन नेताको सम्वोधन
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०७:१६
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा को ओली समूहको जनसभा आज दरबारमार्गमा हुँदैछ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्ने उक्त सभामा दुई लाख कार्यकर्ता उतारिने प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार काठमाडौंका तीन जिल्लाबाट र केही नजिकका जिल्लाबाट गरी दुई लाख कार्यकर्ता नारायणहिटी संग्रहालय अगाडि हुने जनसभामा सहभागी हुनेछन् । मध्याह्न १२ बजेदेखि हुने सभाअघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट सांगीतिक प्रस्तुतिसहित जुलुस निकालिने जनाइएको छ ।
उक्त जनसभामा प्रधानमन्त्री ओलीसहित तीन जना शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने जनसभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् ।
नेकपा बागमती प्रदेश सङ्गठन कमिटीले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएको छ । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको आयोजकले जनाएको छ ।
सरकारले ताजा जनादेशमा जान भन्दै प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेको छ । तर यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले चुनाव हुने नहुने टुंगो छैन ।
प्रधानमन्त्रीले यो सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनी पक्षीय नेताहरुले गर्दै आएका छन् । विभिन्न सामाजिक संजालमार्फत नारायणहिटी अगाडि सम्वोधन गरेर ओलीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेसमेत चर्चा चलाइएको छ ।
प्रतिनिधिसभा विघटन भएपछि फुटेको नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा बृहत सभा गरेको थियो । उक्त सभामा भेला भएका कार्यकर्ताप्रति व्यङ्ग्य गर्दै ओलीले सभा कस्तो हुन्छ २३ गते देखाइदिने बताएका थिए । समूहले जिल्लाजिल्लाबाट कार्यकर्ता भेला गरेको जनाइएको छ । बिहीबारमात्र सुरक्षाकर्मीको स्कर्टिङमा गाडीमा कार्यकर्ताहरु ल्याइएको बताइएको छ ।
यस्तो छ रुट
आज जनसभाका लागि र्यालीमा आउने कार्यकर्ता तथा शुभेच्छुकहरुका लागि काठमाडौं उपत्यका भित्रका विभिन्न १६ रुट निर्धारण गरेको छ । बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोर्हखुट्टे, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वरलाई र्यालीको रुट क्षेत्र तोकिएको हो । आज यिनै रुटहरुबाट भेला जम्मा भएर दरबारमार्ग पुग्नेछन् ।







प्रतिकृया