• १४ असोज २०८३, बुधबार
  • ८ः०३ राती

मेगा बैंकको १०औं बार्षिक साधारणसभा सम्पन्न, १३.०५५ लाभांश पारित

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०६:०२

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस सेयर सहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ ।  बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैयाँ ७९ पैसा लाभांश पारित गरेको हो ।

National Life

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ ६१ पैसा बोनस सेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

साधारण सभाले गाभ्ने अथवा गाभिने मर्जर र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

अध्यक्ष शाहका अनुसार, डिजिटल बैंकिङलाई प्रबर्धन गर्ने उद्देश्यले मेगा बैंकले ‘डिजिटल ट्रान्सफर्मेशन स्टेरिङ कमिटी’ गठन गरी कार्यान्वयनमा ल्याएको छ । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’ समेत संचालनमा ल्याएको उनले बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको बताइन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैयाँले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैयाँले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सिईओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन् । सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैयाँ सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट एक–एक जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि ‘एक शाखा – एक छोरी छात्रवृत्ति अभियान’ सुरुवात गरेको बैंकले त्यसलाई निरन्तरता दिँदै २०७७ सालको शैक्षिक सत्रका लागि प्रत्येक शाखाहरुबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ ।

गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०६ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउण्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

प्रतिकृया