• ३१ भदौ २०८३, बुधबार
  • ७ः१९ बिहान

नेकपा कर्णाली प्रदेशमा विवाद

प्रकाशित मिति

२०७७ आश्विन २७ गते, मंगलवार ०६:४५

कर्णाली, नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटिरहेका बेला कर्णाली प्रदेशका नेकपाका संसदीय दलका सदस्य थप विभाजित भएका छन् । प्रमुख सचेतक गुलाबजङ्ग शाहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न मङ्गलबार अपराह्न बैठक बोलाएपछि दलका नेता मुख्यमन्त्री शाहीले उहाँलाई पदमुक्त गर्नुभएको छ ।

National Life

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव र प्रमुख सचेतकमाथिको कारवाहीले नेकपामा झन् सङ्कट निम्त्याएको छ ।
असन्तुष्ट १८ प्रदेशसभा सदस्यले आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा पेश गरिएको सार्वजनिक गरेका थिए । पार्टीका शीर्ष नेतामा नेकपा कर्णाली प्रदेशको विवाद समाधानको प्रयास भइरहेका बेला यहाँको गहिरिँदो सङ्कटले प्रदेश सरकार तथा पार्टीका कामकारवाही प्रभावित भएका छन् ।

कर्णाली प्रदेश राजधानीमा दुई पक्षका नेताहरु आपसी परामर्शमा व्यस्त छन् । मुख्यमन्त्री शाहीले पदमुक्त गरे पनि प्रमुख सचेतक शाहले मङ्गलबार निर्धारित समयमै आफ्नो अध्यक्षतामा दलको बैठक बस्ने बताउनुभयो । मुख्यमन्त्रीले गरेको कारवाही दलको विधान विपरीत भएको उहाँको भनाइ छ ।“विधानमा दलको नेताको विरुद्धमा अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतकले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ”, उहाँले रासससँग भन्नुभयो, “भोलि(मङ्गलबार) बैठक बस्छ, प्रस्तावउपर निर्णय हुन्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

उता मुख्यमन्त्री शाही निकट प्रदेशसभा सदस्य गोपाल शर्माले पार्टी एकताको भावनालाई ख्याल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । “अब नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते हुन्छ र छलफल सकारात्मक दिशातर्फ जान्छ”, उहाँले भन्नुभयो, “अल्पमत÷बहुमतले पार्टी विभाजनतर्फ जाने र यसको नकारात्मक सन्देश प्रवाह हुने हुँदा यसमा सबैले सचेत हुन जरुरी छ ।” चालीस सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३३ सभासद् छन् ।
रासस

प्रतिकृया