पशुपति क्षेत्रमा स्थानीयवासीको प्रदर्शन
प्रकाशित मिति
२०७७ आश्विन १९ गते, सोमबार ०२:५९
काठमाडौं, पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले सोमबार प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ ।पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाको विरुद्धमा आन्दोलन सुरु गरिएको बताए ।
गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको संगतले बताए ।
काठमाडौं महानगरपालिका वडा नं ८ का वडाध्यक्ष दिनेश सिंह डंगोेलले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायहरुसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताए । यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनास हुने गरी गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको उनको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ ।
कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।
कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो ।पुरानो योजनाको समीक्षा नगरिकन नयाँ गुरुयोजना तयार पारिएको ले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।








प्रतिकृया