• ७ असोज २०८३, बुधबार
  • १ः५४ दिउँसो

आज रातिबाट नियमित उडान, विमानस्थलमा यात्रुको व्यवस्थापन सेनाबाटै

प्रकाशित मिति

२०७७ भाद्र १६ गते, मंगलवार ०५:२०

काठमाडौं, पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ ।

National Life

कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान हुन सकेको थिएन । अहिले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सिमित संख्यामा सरकारले उडान सुचारु गर्न लागेको हो ।

विदेशबाट आउने यात्रुको विमानस्थलमा रिसिभ गर्ने प्रक्रिया १० चैतभन्दा अगाडीको जस्तै सामान्य भने हुने छैन । यात्रुले चार्टर्ड उडानमा जस्तै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्नुपर्छ । यसको व्यवस्थापन नेपाली सेनाबाटै हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण भन्छन्, ‘आज जसरी सेनाबाट यात्रुको व्यवस्थापन भइरहेको छ, भोलि पनि त्यस्तै हुन्छ ।’

अहिले जहाजबाट झरिसकेपछि नेपाल एयरलाइन्सको र्‍याम्पबसले यात्रुलाई प्रस्थान टर्मिनलसम्म ल्याउने र त्यहाँबाट सेनाले होल्डिङ सेन्टर लैजाने गरेको छ । होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर घर पठाइन्छ भने रिपोर्ट नभएका यात्रुलाई क्वारेन्टिनमा पठाइन्छ ।

अब भने एउटै जहाजमा पीसीआर नेगेटिभ भएका र परीक्षण नगरेका यात्रुलाई ल्याउन पाइने छैन । यसरी ल्याएमा सबै जिम्मेवारी सम्बन्धित वायुसेवा कम्पनीको हुनेछ । अर्थात् सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ र त्यसको खर्च वायुसेवा कम्पनीले बेहोर्नु पर्नेछ ।

नियमित उडानका बीचमा पनि पीसीआर परीक्षण नहुने मुलुकमा भने सरकारले चार्टर्ड उडान गर्दैछ । सेप्टेम्बर महिनाभर यस्तो उडान जारी रहनेछ । पीसीआर रिर्पोट नभएका यात्रु भने सबै अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । यसबाहेक विदेशबाट गैरआवासीय नेपालीलाई एकाघरमा कुनै मानिस गम्भीर बिरामी भएको वा मृत्यु भएको अवस्थामा आउन दिने नीति सरकारले लिएको छ ।

नेपालमा अध्ययनरत विदेशी विद्यार्थी र विदेश विकास साझेदारका प्रतिनिधि कर्मचारीलाई समेत अब नेपाल आउने बाटो खुलेको छ । संयुक्त राष्ट्रसंघ र यस मातहतका निकाय तथा कुटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि र उनीहरुको परिवारका सदस्यलाई पनि नेपाल आउने अनुमति प्राप्त भएको छ । उनीहरुले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट भिसा र अनुमति भने लिनुपर्नेछ ।

पीसीआर रिर्पोट नेगेटिभ

अब नियमित उडानबाट नेपाल आउने हरेक यात्रुको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनु पर्छ । त्यो पनि ७२ घण्टा भित्रको । पीसीआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिङ पास दिनुपर्ने व्यवस्था गरिएको छ ।

घर जान पाइने शर्त

एउटै उडानबाट आएको सबै यात्रुको साथमा पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट भएमा सबै घर जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ ।

यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड १९ व्यवस्थापन केन्द्रले गर्नेछ । यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारीसमेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनुपर्ने गरी शर्त राखिएको छ ।

अनलाइन फाराम अनिवार्य

नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेवसाइटमा राखिएको र्फम भरेर त्यसको बारकोड वा पि्रन्ट अनिवार्यरुपमा ल्याउनु पर्नेछ ।

कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनु पर्ने शर्तसमेत राखिएको छ ।

एउटै जहाजमा ल्याउन नपाइने अवस्था

वायुसेवा कम्पनीले एउटै जहाजबाट पीसीआर नेगेटिभ आएको र परिक्षण नै नगरेका यात्रुलाई ल्याउन पाउने छैनन् । कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ ।

परीक्षण नगरेका यात्रु ल्याए कारवाही

सरकारले पिसिआर परीक्षण सम्भव नहुने नेपालीहरु रहेका स्थानमा चार्टर्ड उडान राखेको छ । तर, नियमित उडानमा भने अब पिसिआर नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको शर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय वायुसेवा कम्पनीले पाउने भएका छन् । त्यसरी ल्याएमा एकातर्फ कानुनअनुसार कारवाही हुने र अर्कोतर्फ यात्रुको खर्चसमेत एयरलाइन्सले भर्नुपर्ने गरी शर्त राखिएको छ ।

विदेशीको हकमा परिचयपत्र अनिवार्य

सरकारले पहिलो चरणको नियमित उडानका दौरान विदेशबाट नेपाली नागरिकबाहेक कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई मात्र आउन अनुमति दिएको छ ।

यस्ता व्यक्तिलाई बोर्डङ पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नु पर्नेछ । कन्सुलर विभागले जारी गरेको परिचयपत्र नभएमा आफु कार्यरत संस्थाले जारी गरेको परिचयपत्रलाई आधार मानेर वायुसेवा कम्पनीले जहाज चढाउन सक्ने भएका छन् ।

भिसाको जिम्मा विभागलाई

कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई दिने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशन अनुसार निर्णय हुने भएको छ ।

विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ ।

नियुक्ति पत्रबाट छुट

कुनै पनि कुटनीतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइने भएको छ । यस्ता व्यक्तिको पनि पीसीआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाई सरह लागू हुनेछ ।

स्वास्थ्यको मापदण्ड अनिवार्य

नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भएको छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्देशन समेत जारी गरेका छन् । वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलको सूचि सार्वजनिक भइसकेको छ । क्वारेन्टिनमा बस्नै पर्ने यात्रुले अग्रीम होटेल बुकिंग गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुन सक्ने समेत मन्त्रालयले राखेको शर्तमा उल्लेख छ ।

 

प्रतिकृया